बालेनद्वारा गठन गरिएको छानबिन समिति निष्क्रिय, म्याद थपिएन

Categories:

-

काठमाडौँ,२० फागुन ।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहद्वारा गठित छानबिन समिति काम सम्पन्न गर्न नपाउँदै निष्क्रिय बनेको छ। मेयर साहले समितिको म्याद थप नगर्ने निर्णय गरेपछि समिति स्वतः भंग भएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल सरकारका सहसचिव सरोज गुरागाईंमाथि भ्रष्टाचारको आरोप लगाउँदै साहले छानबिन समिति गठन गरेका थिए। पूर्वसचिव एवं आफ्ना प्रशासनिक सल्लाहकार शंकरप्रसाद पाण्डेको संयोजकत्वमा गठित समितिले थप १५ दिनको समय मागेको थियो। तर, मेयर साहले सो अनुरोध अस्वीकार गर्दै अन्य विभागहरूलाई रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।

समितिले फागुन ५ गते मेयरलाई सम्बोधन गर्दै विस्तृत अनुसन्धान, कानुनी तथा प्रविधिगत अध्ययन, सरोकारवालासँगको परामर्श, संलग्न कर्मचारीको प्रतिक्रिया संकलन र प्राविधिक रिपोर्टहरूका लागि थप समय आवश्यक भएको उल्लेख गरेको थियो। समितिको प्रारम्भिक म्याद माघ २८ गते सकिएपछि १० दिन थपिएको थियो। त्यसपछि फेरि १५ दिन म्याद थपका लागि अनुरोध गरिए पनि मेयरले फागुन १२ गते रातो मसीले ‘समितिको म्याद थप नगर्ने’ स्पष्ट निर्देशन दिएका छन्।

उक्त निर्णयसँगै उपमेयर सुनिता डंगोलले छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छन्। ‘बिना प्रमाण कसैलाई भ्रष्टाचारी भन्न मिल्दैन,’ महानगरका एक अधिकृतले बताए, ‘छानबिन समितिले अहिलेसम्म गुरागाईंलाई दोषी प्रमाणित गर्न सकेको छैन, तर मेयर साहले सस्तो लोकप्रियताका लागि कर्मचारीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेका छन्।’

यस घटनाले महानगरको प्रशासनिक निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। मेयर साहको निर्णय सही थियो कि गलत भन्ने विषयमा मिश्रित प्रतिक्रिया आएका छन्। कतिपयले पारदर्शिता र सुशासनका लागि उनको कदम आवश्यक रहेको बताएका छन् भने अन्यले यो निर्णय प्रक्रियागत त्रुटि भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य