रोयटर्स/ फागुन ,१८ लन्डन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको चर्को बहसपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टारमरलाई भेटेका छन्। बेलायती प्रधानमन्त्रीले जेलेन्स्कीलाई अँगालो हालेर न्यानो स्वागत गर्दै भने, “सम्पूर्ण बेलायत तपाईंसँगै छ। हाम्रो देश आज र सधैं युक्रेनको साथमा उभिनेछ।”
यसैबीच, युक्रेन र बेलायतबीच २.२६ अर्ब पाउण्ड (३ सय ७४.८८अर्ब नेपाली रुपैयाँ) को ऋण सम्झौता भएको छ। बेलायती चान्सलर राहेल रिभ्स र युक्रेनी अर्थमन्त्री सर्गी मार्चेन्कोले उक्त ऋण सम्झौतामा हस्ताक्षर गरे। ऋणको पहिलो किस्ता अर्को हप्ता युक्रेन आइपुग्ने अपेक्षा गरिएको छ।
डाउनिङ स्ट्रिटमा जेलेन्स्कीलाई स्वागत गर्दा केयर स्टारमरले भने, “मलाई लाग्छ तपाईंले सडकमा केही नाराहरू सुन्नुभयो होला। यो बेलायतका जनता तपाईंलाई कति समर्थन गर्छन् भनेर देखाउन बाहिर निस्किरहेका छन्।” उनले थपे, “हामी तपाईं र युक्रेनको साथमा उभिनेछौं, जति लामो समय लागे पनि।” स्टारमरले रुसको अवैध युद्ध अन्त्य गर्ने र न्यायपूर्ण र दिगो शान्ति स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलायती प्रधानमन्त्रीसँगको आफ्नो वार्ता “महत्त्वपूर्ण र न्यानो” भएको बताए। यस क्रममा युक्रेनको स्थिति सुदृढ पार्ने, भरपर्दो सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने र युरोपले सामना गरिरहेका चुनौतीहरूको समाधानका लागि साझेदारहरूसँग समन्वय गर्ने बारेमा छलफल गरियो।
लन्डन आइपुगेपछि जेलेन्स्कीलाई भीडले नाराबाजी गर्दै स्वागत गरेको थियो। साथै, लन्डन शिखर सम्मेलनअघि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले जेलेन्स्की र डोनाल्ड ट्रम्पसँग कुरा गरेका थिए। म्याक्रोंले सबैजनालाई शान्त रहन आग्रह गरे र जेलेन्स्कीले संयुक्त राज्य अमेरिकासँग वार्ता पुनः सुरु गर्न तयार रहेको बताएका थिए। म्याक्रोंले बेलायती प्रधानमन्त्री स्टारमर, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र नेटो प्रमुख मार्क रुटसँग पनि छलफल गरेका थिए।


