फागुन १८, काठमाडौं। साहित्यकार तथा पत्रकार बी.के. पाल्पालीको चौथो वार्षिक स्मृति दिवसका अवसरमा काव्यघर नेपाल मिडिया प्रा.लि. र झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
फागुन १७ गते काठमाडौंको अनामनगरस्थित सामाजिक विकास भवनको सभाकक्षमा रेणुका भट्टराई ‘मञ्जरी’ द्वारा लिखित ‘मेरो हजुर’ शोककाव्यको लोकार्पण गरिएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि प्रा. डा. हेमनाथ पौडेललगायत अतिथिहरूको उपस्थितिमा कृति विमोचन गरिएको हो।
कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष तथा अभियन्ता रेणुका भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै विशेष अतिथि प्रा. डा. हेमनाथ पौडेलले शोककाव्य लेखेर दिवंगत श्रीमानलाई अमर बनाउने प्रयास प्रशंसनीय रहेको बताए। उनले झ्याउरे छन्दलयमा लेखिएको यो कृति नेपाली वाङ्मयका लागि महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्दै बी.के. जी र रेणुका भट्टराईको १८ वर्षको सहयात्राका सुखद् र कठिन क्षणहरू समेटिएको काव्य भएको धारणा व्यक्त गरे।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले बी.के. पाल्पालीको योगदानको चर्चा गर्दै कम उमेरमै उहाँको निधनले साहित्य र पत्रकारिता क्षेत्रलाई ठूलो क्षति पुगेको बताए। उनले पाल्पालीको स्मृतिमा लेखिएको शोककाव्यले उहाँलाई अझ जिवन्त बनाएको धारणा राखे।
कार्यक्रममा गंगा कर्माचार्य पौडेल, पेशल लुइँटेल, अमर अधिकारी, रणबहादुर बुढाथोकी, गंगा खतिवडा, शान्ति पौडेल, चन्द्रा न्यौपाने, अरुण नदी खत्री, कल्पना भट्टराई, भुवन भट्ट, प्रा. डा. घनश्याम पुडासैनी, शमशेर बहादुर न्यौपाने प्रधानलगायतका साहित्यकारहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन काव्यघर नेपाल मिडियाका संस्थापक अध्यक्ष राजकुमार खड्काले गरेका थिए भने सभापतिबाट कार्यक्रमको समापन गरिएको थियो। कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


