काठमाडौं,१३ फागुन । महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति मन्दिरमा पूजा-अर्चना गर्दै पर्व व्यवस्थापनबारे आवश्यक निर्देशन दिएका छन्। सोमबार साँझ पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूसँग भेट गर्दै उनले महाशिवरात्रिलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा भक्तजनलाई दर्शन गराउने वातावरण मिलाउन निर्देशन दिए।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत सरकारी अधिकारीहरू पशुपति मन्दिर पुगेका थिए।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी पूरा भएको जनाएको छ। यस वर्ष लाखौँ भक्तजनको पशुपति दर्शन गर्ने अपेक्षा गरिएको छ। कोषका पदाधिकारीका अनुसार सुरक्षा, स्वास्थ्य, स्वच्छता तथा भक्तजनको सहज प्रवेशलाई मध्यनजर गर्दै आवश्यक व्यवस्थापन गरिएको छ।
यसैबीच, काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विशेष सूचना जारी गर्दै फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपति क्षेत्रभित्र मासु, मदिरा तथा नसालु पदार्थको उत्पादन, बिक्री-वितरण, ओसारपसार, भण्डारण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ। प्रशासनले शिवरात्रि पर्वलाई मर्यादित बनाउन उक्त निर्णय गरेको जनाएको छ।
महाशिवरात्रिको अवसरमा बुधबार पशुपति मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिनेछ। पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थासँगै श्रद्धालु भक्तजनलाई सहज दर्शनका लागि विभिन्न प्रवेशद्वार तोकिएको छ। कोषका अनुसार श्रद्धालु भक्तजनलाई लाइन व्यवस्थापन गर्दै मन्दिर प्रवेश गराइनेछ।
शिवरात्रिका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी तथा सशस्त्र प्रहरी बलका सयौँ जवानहरू परिचालित गरिएका छन् भने स्वयंसेवकहरूको टोली समेत खटाइएको छ। कोषका पदाधिकारीहरूका अनुसार पशुपति क्षेत्रमा फोहर व्यवस्थापन, निःशुल्क पानी वितरण र स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको छ।
महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूका लागि विशेष पर्व मानिन्छ। विशेषगरी पशुपति मन्दिरमा रातभर जाग्राम बस्ने परम्परा छ। यो पर्वलाई लिएर नेपाल तथा छिमेकी देश भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू पशुपति क्षेत्रमा आउने गरेका छन्।


