ग्यास अभावले जनजीवन कष्टकर, आपूर्ति संकट कि उद्योगीको दबाब रणनीति

Categories:

-

काठमाडौं, १३ फागुन  । उद्योगीहरूको हड्तालको त्रास र भारतको बरौनीबाट कम आपूर्ति भएपछि मुलुकभर ग्यास अभाव गहिरिँदै गएको छ। उपभोक्ताले ग्यास नपाउने गुनासो गरिरहँदा उद्योगी र सरकारबीचको टकरावले समस्या झन् जटिल बनाएको छ।

नेपाल आयल निगमका अनुसार भारतको बरौनीबाट हाल दैनिक १८ बुलेट मात्र ग्यास लोड भइरहेको छ, जुन अन्य समयमा ४० बुलेटसम्म पुग्थ्यो। बरौनीको उत्पादन घट्नु र उद्योगीहरूले कमिसन वृद्धि गर्न माग गर्दै दबाब बढाउनु अभावको मुख्य कारण रहेको बताइन्छ।

उद्योगीको हड्तालको असर

ग्यास उद्योगीहरूले केही दिनअघि कमिसन बढाउन माग राख्दै आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरूको आन्दोलनको त्रासले उपभोक्ताहरूले डरले ग्यास स्टक राख्न थाले, जसले बजारमा कृत्रिम अभावको अवस्था सिर्जना गर्‍यो। यसैबीच, बरौनीबाट कम लोड भएपछि संकट झन् गहिरिएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले उद्योगीहरूले अभाव सिर्जना गरेको आरोप अस्वीकार गरेका छन्। ‘उद्योगीले कसरी ग्यास लुकाउने? ग्यास त सिलिन्डरमा हुन्छ, लामो समयसम्म लुकाउन सम्भव छैन। आयल निगमले कोटा बढाएको छैन, यही कारण मागभन्दा आपूर्ति कम भएको हो,’ उनले भने।

सरकारी निकायहरू मौन?

नेपाल आयल निगमका एक कर्मचारीले उद्योगीहरूकै रणनीति अभावको मुख्य कारण भएको आरोप लगाए। ‘उद्योगीहरूले ग्यासको पीडीओ रोक्ने धम्की दिएपछि एकाएक माग बढ्यो। त्यही बेला बरौनीको प्लान्ट बिग्रियो भन्दै ग्यास लोड घटाइयो, जसले स्थिति जटिल बनाएको छ,’ ती कर्मचारीले बताए।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास अभावको समस्या देखिएको स्वीकार गरेको छ। विभागका निर्देशक डिकबहादुर कार्कीका अनुसार बजार अनुगमन गर्दा साना पसलहरूमा ग्यासको अभाव देखिएको छ। ‘बिक्रेताले उद्योगबाट ग्यास नआएको बताए, जसले अभाव सिर्जना गराएको पुष्टि गर्छ,’ कार्कीले भने।

सरकारको भूमिकाप्रति प्रश्न

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीहरूका मागबारे छलफल गरे पनि कुनै ठोस निर्णय गर्न सकेको छैन। मन्त्रालयका अधिकारीहरूले उद्योगीहरूसँग आन्तरिक छलफल भइरहेको बताए पनि तत्काल समस्या समाधान हुने संकेत देखिएको छैन।

नेपाल आयल निगमका निर्देशक मनोजकुमार ठाकुरले भने ग्यास आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरे। ‘न आयात घटेको छ, न कोटा घटाइएको छ। उपभोक्ताहरूले डरले धेरै स्टक राखेकाले अभाव देखिएको हुनसक्छ,’ उनले भने।

उपभोक्ताको दुर्दशा

बजारमा ग्यास नपाएपछि उपभोक्ताहरू समस्यामा परेका छन्। खाना पकाउने ग्यास अभाव हुँदा अधिकांश परिवारहरू मटितेल, दाउरा वा बिजुली चुल्हो प्रयोग गर्न बाध्य छन्।

सरकार, उद्योगी र आपूर्तिकर्ताबीचको तानाबाना मिल्न नसक्दा ग्यास अभाव झन् चर्किन सक्ने चिन्ता उपभोक्ताहरूले व्यक्त गरिरहेका छन्। अभावलाई हटाउन सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग सर्वसाधारणले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य