सहकारी घोटाला: मन्त्रीका सचिवले ज्यान दिए

Categories:

-

काठमाडौं, फागुन १३ – बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन्। उनले सोमबार राति गहुँमा प्रयोग हुने विषादी सेवन गरेर ज्यान लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिल राज बोहोराले जानकारी दिए।

थापा धादिङको धुनिवेँशी नगरपालिका–९ का स्थायी बासिन्दा हुन्। केही महिनाअघि मात्रै मन्त्री श्रेष्ठको स्वकीय सचिवका रूपमा नियुक्त भएका उनी विवादास्पद अडियो प्रकरणपछि तनावमा रहेको बताइएको छ।

समस्याग्रस्त सहकारीको फाइल हटाउने विषयमा बार्गेनिङ

प्रदेश सरकारअन्तर्गतको सहकारी महाशाखाले गत पुस २८ गते सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड लाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। सो सहकारीको फाइल हटाउने विषयमा थापा, नेपाली कांग्रेसका धादिङ नेता राजु बर्तौला र सुमेरु सहकारीका पूर्व सचिव विनोद आचार्यबीच भएको कुराकानीको अडियो सार्वजनिक भएपछि थापा तनावमा थिए।

अडियोमा सहकारीको फाइल प्रणालीबाट हटाउने विषयमा पैसामा बार्गेनिङ भएको कुरा बाहिर आएपछि मन्त्री श्रेष्ठको निर्देशनमा बर्तौलालाई सोमबार बिहानै प्रहरीले पक्राउ गरेको थियो।

पक्राउपछि तनावमा परेका थापाले लेखे ‘सरी दाइ’

बर्तौला पक्राउ परेको केही समयपछि थापाले कालिमाटीस्थित साथीको कोठामा एक पानाको ‘सुसाइड नोट’ लेखेर विष सेवन गरेका थिए। प्रहरीले दिउँसो २ बजे गम्भीर अवस्थामा फेला पारेका थापाको साँझ ६ः३० बजे शहीद मेमोरियल अस्पताल, कलंकीमा उपचारका क्रममा मृत्यु भएको हो।

सुसाइड नोटमा थापाले मन्त्री श्रेष्ठलाई सम्बोधन गर्दै “सरी दाइ, मैले गल्ती नगरे पनि फसाउन खोजिएको छ” भन्ने उल्लेख गरेका थिए। मन्त्री श्रेष्ठले घटनाप्रति दुःख व्यक्त गर्दै भने, “हाम्रो मन्त्रालय, सचिवालय र मैले राम्रो काम गरेको कारण फसाउन खोजिएको रहेछ। अडियोलाई सम्पादन गरेर गलत अर्थ निकालिएको छ।”

विदामा रहेको दाबी, छोरीको जन्मदिनका लागि धादिङ गएका थिए

मन्त्री श्रेष्ठका अनुसार रवि थापा सो दिन विदामा थिए र छोरीको जन्मदिनका लागि धादिङ गएका थिए। मन्त्री श्रेष्ठले भने, “त्यो अडियो सार्वजनिक भएपछि मैले प्रहरीलाई निगरानी गर्न भनेको थिएँ। त्यसैबाट डरले उनले यस्तो कदम चालेको हुनसक्छ।”

यस घटनाले सहकारी क्षेत्रको बढ्दो भ्रष्टाचार, आर्थिक लेनदेनका प्रकरणहरू, र राजनीतिक प्रभावका कारण देखापर्ने जटिलताहरूलाई पुनः उजागर गराएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य