प्रकृति लम्साल प्रकरण: प्रधानमन्त्री ओलीले बुबाआमासँग संवाद गर्दै न्यायको प्रतिबद्धता जनाए

Categories:

-

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालका आमाबाबुसँग कुराकानी गरेका छन्।

नेकपा (एमाले) नेता महेश बस्नेतले भैरहवास्थित लम्साल परिवारको घरमा पुगेर समवेदना व्यक्त गर्दै प्रधानमन्त्री ओलीसँग कुराकानी गराएका हुन्। उक्त संवादमा प्रधानमन्त्री ओलीले घटनाको विस्तृत विवरण लिँदै न्यायका लागि सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने र निष्पक्ष छानबिनको आधारमा आवश्यक कारबाही गरिने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘यो घटनाले मलाई अत्यन्तै दुखित बनाएको छ। यस्ता पीडादायी घटनाहरू नदोहोरिऊन् भनेर हामीले आवश्यक पहल गर्नुपर्छ। सरकारले यस विषयमा सुरु देखिनै गम्भीर ध्यान दिएको छ।’

यस क्रममा प्रकृतिका पिता सुनिल लम्सालले सरकारले पहल गरिरहेकोमा आभार व्यक्त गर्दै विदेशमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूले भविष्यमा यस्ता दुर्घटनाको सामना गर्न नपरोस् भन्ने सुनिश्चित गर्न आग्रह गरे। उनले भने, ‘हाम्रो छोरी गुमिसक्यो। तर त्यहाँ अझै धेरै नेपाली विद्यार्थी छन्। सरकारले दीर्घकालीन रुपमा सुरक्षा सुनिश्चित गर्नुपर्छ।’

ओडिसा प्रहरीले प्रकृति लम्सालको मृत्यु प्रकरणमा उत्तर प्रदेशका एक विद्यार्थीलाई हिरासतमा लिएको छ भने अनुसन्धान जारी रहेको छ। साथै, विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूप्रति देखाएको गैरजिम्मेवार व्यवहारको भारतभर विरोध भएपछि विश्वविद्यालयले माफी माग्दै सबै नेपाली विद्यार्थीहरूलाई अध्ययनमा फर्किन आग्रह गरेको छ।

घटनापछि करिब २०० भन्दा बढी नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् भने विश्वविद्यालयमा हाल १५०० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य