काठमाडौँ,१२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत, भुटान र माल्दिभ्सका ‘नैशनल क्याडेट कोर’ (एनसिसी) टोलीले शिष्टाचार भेट गरेका छन्। युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले सेनाबीचको आपसी सम्बन्ध बलियो बनाउने र क्याडेटहरूबीच सीप, संस्कृति तथा परम्पराको आदानप्रदान गर्ने सुनौलो अवसर सृजना भएको उल्लेख गरे।
महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले युवा आदानप्रदान कार्यक्रम आयोजना गरेको हो। सेनाका अनुसार, एनसिसीले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाका गुणको विकास तथा प्रवद्र्धन गर्दै आएको छ।
शुक्रबार नेपाल आएको टोलीमा ३४ सदस्य रहेका छन्। प्रधानमन्त्रीसँगको भेटमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतीय एनसिसीका महानिर्देशक गुरवीर पाल सिंह, भुटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्सका रिफान अलीलगायतको उपस्थिति थियो।
यो कार्यक्रमले नेपाल र मित्रराष्ट्रहरूबीचको सैन्य तथा युवा सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।


