काठमाडौँ,१२ फागुन । सिन्धुपाल्चोकबाट इन्स्पेक्टरमा नाम निकाल्ने पहिलो महिला सन्तोषी महतको मृत्युबारे छानबिन गर्न सशस्त्र प्रहरी बलले पाँच सदस्यीय समिति गठन गरेको छ। मातातीर्थस्थित सशस्त्र प्रहरी तालिम प्रतिष्ठानका उपप्रमुख डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको हो।
सशस्त्र प्रहरी मुख्यालयका प्रवक्ता कुमार न्यौपानेका अनुसार, महतको परिवारले सहकर्मी प्रहरी निरीक्षक विवेक जोशीबिरुद्ध उजुरी दिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो। परिवारले कास्की प्रहरीमा जोशीविरुद्ध औपचारिक उजुरी दर्ता गराएका छन्।
महतले प्रहरी निरीक्षकको ९औं नम्बरमा नाम निकालेपछि तीन महिनाअघि मात्रै पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा आधारभूत तालिमका लागि पुगेकी थिइन्। शनिबार राति ९:३० बजे ब्यारेकको शौचालयको बिममा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७ लागर्चे घर भएकी महतले २०७२ सालमा सशस्त्र प्रहरी जवानका रूपमा सेवा सुरु गरेकी थिइन्। उनले तेस्रो प्रयासमा २०७८ मा असईमा नाम निकालिन् र अन्ततः २०८० मा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक बन्न सफल भइन्।
महतको परिवारका अनुसार, उनले प्रहरी निरीक्षक नभएसम्म विवाह नगर्ने निर्णय लिएकी थिइन्। उनको सफलतापछि बुबाआमा अष्ट्रेलिया गएका थिए, जहाँ जेठी दिदी सविना बस्छिन्। परिवारका सदस्यहरू स्वदेश फर्किएपछि मात्रै महतको अन्त्येष्टि गरिने जनाइएको छ।
यस घटनाले प्रहरी संगठनभित्र मानसिक स्वास्थ्य, सहकर्मीबीचको सम्बन्ध तथा कार्यस्थलमै हुने दुव्र्यवहारको सम्भावनाबारे प्रश्न उठाएको छ। छानबिन समितिले घटनाका सबै पक्षबारे अध्ययन गरी प्रतिवेदन दिने बताइएको छ।


