बालेन साहको कारबाही: प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथिको छानबिन अन्तिम चरणमा

Categories:

-

काठमाडौं,१२ फागुन । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ। छानबिन समिति एक-दुई दिनमै प्रतिवेदन बुझाउने तयारीमा रहेको छ।

महानगर प्रमुख बालेन साहको अध्यक्षतामा पुस १४ र २५ गते बसेको बैठकले वडा नम्बर २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा प्रक्रिया पूरा नगरी स्वीकृत गरिदिएको आरोपमा गुरागाईंमाथि छानबिन गर्न समिति गठन गरेको थियो। पूर्वसचिव शंकरप्रसाद पाण्डेको संयोजकत्वमा गठित छानबिन समितिमा शहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारी र कानुनी सल्लाहकार महेश नेपाल सदस्य रहेका छन्।

सहसचिव स्तरका गुरागाईंले असोज ७ गते मात्र प्रमुख प्रशासकीय अधिकृतको पदभार सम्हालेका थिए। छानबिन समितिका एक सदस्यका अनुसार, प्रारम्भिक अनुसन्धानमा गुरागाईंले अनधिकृत काम गरेको कुनै ठोस प्रमाण फेला परेको छैन। उनका अनुसार, बालेनले एक वर्षअघि नै पाँच लाख रुपैयाँ जरिवाना लिएर उक्त टावरको निर्माण स्वीकृति दिएका थिए, जसबारे पूर्वप्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको पालामै चर्चा उठेको थियो।

महानगरमा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण प्रशासनिक कामकाज प्रभावित भइरहेको छ। कर्मचारीहरूलाई तलब भुक्तानीमा समस्या परेको छ भने आर्थिक अधिकारको अभावले दैनिक कार्यसम्पादनमा असर परिरहेको छ। बालेनले संघीय सरकारलाई आर्थिक अधिकार दिन अनुरोध गरेका छन्, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

महानगरमा प्रमुख प्रशासकीय अधिकृतमाथि पटक-पटक आरोप लगाएर हटाउने, निलम्बन गर्ने वा राजीनामा गराउने क्रम जारी छ। यसअघि वसन्त अधिकारी, महेश काफ्ले लगायतका प्रशासकीय अधिकृतहरू विभिन्न विवादमा परेका थिए। यतिबेला प्रमुख प्रशासकीय अधिकृत नभएको कारण छानबिन समितिका सदस्यहरूले बैठकभत्ता समेत नपाएको स्रोतले जनाएको छ।

महानगरका सहायक सूचना अधिकारी ध्रुवकुमार काफ्लेले भने प्रशासकीय प्रमुख नभए पनि महानगरको आर्थिक गतिविधि प्रभावित नभएको दाबी गरेका छन्। छानबिन समितिको प्रतिवेदन आएपछि गुरागाईंमाथि कारबाहीको निर्णय संघीय सरकारले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य