काठमाडौं,१२ फागुन – नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी कर्मचारीहरूका लागि उपलब्ध औषधि सुविधामा कुनै कटौती नहुने स्पष्ट पारेको छ। हालै सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा औषधि सुविधामा अंकुश लगाउनसक्ने आशंका भएपछि केही प्रहरी कर्मचारीहरूले राजीनामा दिने तयारी गरेका थिए। तर, प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको आन्तरिक सर्कुलरमार्फत यस्तो हल्ला निराधार भएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयका डिआइजी दिनेशकुमार आचार्यद्वारा जारी परिपत्रमा प्रहरीका औषधि उपचार सुविधामा कुनै कटौती नहुने उल्लेख गर्दै, यसबारे फैलिएको हल्ला गलत रहेको स्पष्ट पारिएको छ। परिपत्रमा भनिएको छ, “औषधि उपचारवापतको रकम कटौती हुने भन्ने भ्रम तथा द्विविधा रहेको पाइएकोले तथ्यहीन र गलत अफवाहको पछाडि नलाग्न आग्रह गरिन्छ। उल्लिखित सुविधा यथावत रहने भएकाले सम्पूर्ण प्रहरी कर्मचारीलाई जानकारी गराई सूचनापाटीमा टाँस्ने व्यवस्था मिलाउनू।”
हाल प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूमा यस विषयमा अन्योल बढेपछि प्रधान कार्यालयले औपचारिक रूपमा सूचना जारी गरेको हो। सरकारले खर्च कटौतीको सन्दर्भमा विभिन्न उपायहरू खोजिरहेको भए पनि प्रहरीको औषधि सुविधामा कुनै परिवर्तन नहुने प्रहरी प्रशासनले स्पष्ट पारेको छ।
यस कदमले प्रहरी संगठनभित्र उत्पन्न असमञ्जसतालाई हटाउने विश्वास गरिएको छ। साथै, प्रहरी कर्मचारीहरूलाई अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरिएको छ।


