काठमाडौं,१२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध पेशागत संगठनको नेतृत्व चयनमा ऐतिहासिक उपलब्धि हासिल भएको छ। पहिलोपटक भवानी न्यौपाने दाहाल अध्यक्ष निर्वाचित भएसँगै संगठनले महिला नेतृत्वलाई उच्च प्राथमिकता दिएको स्पष्ट देखिएको छ।
महाधिवेशनमार्फत चयन भएको नयाँ कार्यसमितिमा महिला सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको छ। यसअघि पुरुषप्रधान देखिएको नेतृत्व तहमा महिलाहरूको प्रभावशाली उपस्थितिले पार्टीभित्र सकारात्मक सन्देश गएको छ।
एमालेको आठौं महाधिवेशनले पारित गरेको समावेशी सिद्धान्तलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता अध्यक्ष दाहालले व्यक्त गरेकी छिन्। उनका अनुसार, “यसपटक महिलालाई विशेष प्राथमिकता दिइएको हो। आगामी दिनमा दलित, जनजाति तथा अन्य समुदायको प्रतिनिधित्व अझ सशक्त बनाउने दिशामा पार्टी प्रतिबद्ध रहनेछ।”
महासचिवमा रामचन्द्र अधिकारी चयन भएका छन् भने उपमहासचिवहरूमा वामदेव ओली, सूर्यबहादुर कुँवर र कमला दाहाल चयन भएका छन्। विभिन्न भूगोलका प्रतिनिधिलाई समेटेर इञ्चार्जहरूको चयन गरिएको छ, जसमा कोशीमा धुव्रबहादुर कार्की, मधेशमा नौंतम पोखरेल, बागमतीमा पुरुषोत्तम रायमाझी, गण्डकीमा भरत भुसाल, लुम्बिनीमा कविसिंह कठायत, कर्णालीमा तुलाराम गिरी र सुदूरपश्चिममा प्रकाशबहादुर खड्का रहेका छन्।
महिला सहभागिता वृद्धि भए पनि केही समूहहरूले समावेशितामा अझ सुधारको आवश्यकता रहेको बताएका छन्। समावेशीकरणको पक्षमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता पार्टी नेतृत्वले व्यक्त गरेको छ। संगठनको नीति, विधान र पार्टीको समाजवाद उन्मुख कार्यदिशालाई आत्मसात गर्दै भविष्यमा सबै वर्ग, जाति, समुदायलाई समेट्ने योजनामा एमाले रहेको नेताहरू बताउँछन्।
यस महाधिवेशनले नेतृत्व तहमा महिलाको प्रभाव बढाउँदै लैजाने मात्र होइन, संस्थागत सुधारका पक्षमा समेत ठोस कदम चाल्ने संकेत दिएको छ। सबै वर्ग, समुदाय र भूगोललाई प्रतिनिधित्व गराउने दिशामा एमाले नेतृत्वले थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकाले समावेशिता अझै सुदृढ हुँदै जाने अपेक्षा गरिएको छ।


