एलन मस्कविरुद्ध बाल संरक्षण र पितृत्व परीक्षणको मुद्दा दायर

Categories:

-

न्यूयोर्क, ११ फागुन — अमेरिकी पत्रिका यूजर म्यागजिन का अनुसार, लेखक तथा डोनाल्ड ट्रम्प समर्थक एश्ली सेन्ट क्लेयरले शुक्रबार न्यूयोर्क सुप्रीम कोर्टमा आफ्नो छोराको अभिभावकत्व (कस्टडी) प्राप्त गर्न कानुनी मुद्दा दायर गरेकी छन्।

उनले दर्ता गराएको कागजातमा बच्चा न्यूयोर्कमा जन्मिएको उल्लेख गर्दै एलन मस्क आफ्नो छोराको जन्ममा उपस्थित नभएको र जन्मदेखि अहिलेसम्म केवल तीन पटक मात्रै भेटेको आरोप लगाएकी छन्। साथै, मस्कले छोराको हेरचाह तथा पालनपोषणमा कुनै संलग्नता नराखेको उनको दाबी छ।

मुद्दासँगै पेश गरिएको प्रमाणमा विभिन्न लिखित पत्राचार समावेश गरिएको छ, जसमा मस्कले बच्चाको बाबु भएको स्वीकार गरेको बताइएको छ। एउटा सन्देशमा मस्कले आफू डोनाल्ड ट्रम्पपछि “दोस्रो सबैभन्दा बढी हत्या गरिने लक्ष्य” भएकाले यो विषय सार्वजनिक भए उनको छोराले कहिल्यै आफ्नो बाबु चिन्न नपाउने डर व्यक्त गरेका थिए। उनले थप्दै लेखेका छन्, “मात्र परानोइड (अत्यधिक सतर्क) मानिसहरू नै बाँच्न सक्छन्” र “ढिला कुरा गर्नेहरू डुब्दछन्।”

तर, नोभेम्बर २०२४ मा मस्कले सेन्ट क्लेयरलाई पठाएको सन्देशमा “म तिमीलाई फेरि गर्भवती बनाउन चाहन्छु” भनेका थिए। केही हप्ताअघि मात्रै उनले फेरि “हामीले धेरै बच्चा जन्माउनुपर्छ” भन्ने सन्देश पठाएका थिए।

मुद्दामा सेन्ट क्लेयरले मस्कलाई बाबुका रूपमा औपचारिक मान्यता दिनुपर्ने माग गर्दै पितृत्व परीक्षणसमेत गराउन अनुरोध गरेकी छन्।

यो कानुनी विवाद सेन्ट क्लेयरले सामाजिक सञ्जालमार्फत मस्क आफ्ना ५ महिनाका छोराका बाबु रहेको खुलासा गरेपछि सतहमा आएको हो। उनले मिडियाले बाध्य पारेका कारण यो खबर सार्वजनिक गर्नुपरेको दाबी गरिरहेकी छिन्, तर विस्तृत विवरण भने दिएकी छैनन्।

मस्कले प्रत्यक्ष प्रतिक्रिया नजनाइ सामाजिक सञ्जालमा संकेतात्मक रूपमा सेन्ट क्लेयरले “पाँच वर्ष लामो योजना बनाएर आफूलाई फसाएको” भन्ने सन्देशहरू प्रवाहित गरिरहेका छन्। अब यो मुद्दाले के मोड लिन्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य