अर्थ समितिका सांसदहरूले युएसएडको खर्च विवरण सार्वजनिक गर्न माग

Categories:

-

काठमाडौं, ११ फागुन – प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरूले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड) मार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गर्न माग गरेका छन्।

अर्थ समितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गर्दै सो रकम कहाँ र कसरी खर्च भएको हो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखिन्।

“युएसएडमार्फत नेपालको वित्तीय सङ्घीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपतिले नै ‘फ्रड’ भनेका छन्। अनौपचारिक रूपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत खर्च भएको भन्ने जानकारी पाएको छु। यस विषयमा आयोगसँग जवाफ मागिनुपर्छ,” सांसद कार्कीले भनिन्।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा युएसएडको सहयोगलाई ‘फ्रड’ भनेका हुन् भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए। साथै, उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानका लागि आफू अर्थमन्त्री हुँदा भएको हस्ताक्षर र त्यसलाई सबै दलले संसद्बाट पारित गरेको विषय पनि उल्लेख गरे।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले बोलेको विषयमा संसद्मा छलफल गरिनुपर्ने बताए। “ट्रम्पले भनेका विषयमा यहाँ छलफल आवश्यक छैन। यो अर्थ समितिको भन्दा पनि संसद्को विषय हो,” उनले भने। “युएसएडले कुन समयमा र के कार्यक्रममा खर्च गरेको थियो भनेर अर्थ मन्त्रालयसँग विवरण माग गर्न सकिन्छ। यसबारे लिखित पत्राचार गरी मन्त्रालयसँग स्पष्ट जानकारी लिनुपर्छ।”

बैठकमा सांसदहरूले अर्थ समितिको बैठक तोकिएको समयभन्दा ढिलो बस्ने गरेको, कार्यसूचीभन्दा बाहिरका विषयमा बढी छलफल हुने गरेको, तथा समितिको कामको प्रभावकारिता न्यून देखिएको विषय पनि उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य