काठमाडौँ,९ फागुन – विद्यालय खाजामा लगानी बढाउनको लागि सरोकारवालाले माग गरेका छन्। विद्यालय उमेरका बालबालिकाहरूको पोषणयुक्त खाजा सिकाइ र शारीरिक स्वास्थ्यको लागि महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ छ। एक अध्ययन अनुसार, विद्यालय खाजामा प्रत्येक एक डलरको लगानीले पाँच डलरभन्दा बढी प्रतिफल प्राप्त हुन्छ, जसले बालबालिकाको विद्यालयमा पहुँच विस्तार र सिकाइस्तर वृद्धिका निम्ति सहयोग पुर्याउँछ।
नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, जागृति बाल तथा युवा सरोकार नेपाल र अन्य सहयोगी संस्थाहरूको सहकार्यमा पोषणयुक्त विद्यालय दिवा खाजा प्रारुप, २०८१ को कार्यान्वयन सम्बन्धी राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा सरोकारवालाले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजाको व्यवस्थापनको आवश्यकता र यसका सकारात्मक प्रभावहरू बारेमा चर्चा गरे। विद्यालय खाजा कार्यक्रमको प्रभावकारीता बढाउन अभिभावक शिक्षा प्रवर्धन, स्थानीय स्रोत परिचालन र निकासी प्रणालीमा सुधार आवश्यक रहेको भनाइ राखिएको छ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. दिपक काफ्लेले विद्यालय खाजा कार्यक्रमको कार्यान्वयनमा प्राप्त सुझावलाई ध्यानमा राख्दै सरोकारवालाको भूमिकालाई जोड दिँदै सरकारको प्रतिबद्धता व्यक्त गरे।


