काठमाडौं, १० फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आत्मकथा ‘करुणा’ को लोकार्पण कार्यक्रममा भावुक हुँदै आफ्नो जीवनसंगिनीको संघर्षको चर्चा गरेकी छिन्।
शाक्यले ३७ वर्षअघि ओलीसँग विवाह गर्दा कुनै राजनीतिक महत्वाकांक्षा नराखेको बताइन्। उनले भनिन्, “ममा रहेको करुणाको भावनाले गर्दा थुप्रै चुनौती हुँदा हुँदै पनि करुणा भावले जितेर मैले उहाँसँग विवाह गर्ने निर्णय गरेँ। त्यो निर्णय मैले उहाँ कुनै समय मन्त्री वा प्रधानमन्त्री होला भन्ने सोचेर गरेको होइन।”
शाक्यले केही व्यक्तिले ओलीलाई ‘भैंसी गोठालोको छोरो’ भनेर हेप्ने गरेको गुनासो गर्दै भनिन्, “पहिले पहिले ठूलै नेता भन्नेहरूले भैंसी गोठालो भन्दै अन्तर्वार्ता दिएको देखेकी छु। तर, म त भैंसी गोठालोसँग विवाह गरेकोमा गर्व गर्छु।”
उनले नेपालको कृषि प्रधान अर्थतन्त्रप्रति सम्मान गर्नुपर्ने भन्दै थपिन्, “नेपालमा हरेकले खेतबारीमा काम गरेको हुन्छ। केपी सरले पनि आफ्नै खेतबारीमा काम गर्नुभएको होला, घाँस काट्नुभएको होला। यो वर्गीय विभाजन किन? आफ्नै अन्नदातालाई अपमान किन?”
ओलीको आलोचनामा सामाजिक सञ्जालमा आएका टिप्पणीबारे शाक्यको प्रतिक्रिया
शाक्यले सामाजिक सञ्जालमा आउने आलोचनाहरूप्रति असन्तुष्टि जनाउँदै भनिन्, “कतिपयले ओलीलाई अल्छी, निष्क्रिय भन्ने गरेका छन्। तर, उहाँ जति सक्रिय मान्छे नेपालमा मात्र होइन, विश्वमै कमै होलान्। म उहाँलाई ३७–३८ वर्षदेखि नजिकबाट हेरिरहेकी छु। हिजो रातभर उहाँ साढे ४ बजेसम्म निरन्तर काममा हुनुहुन्थ्यो। सायद सुत्दा बिहान ५ बजिसकेको थियो।”
‘बालकोटको घर दरबार होइन, हिसाब बुझाउन तयार छु’
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासलाई लिएर भइरहेका टिकाटिप्पणीहरूप्रति पनि शाक्यले प्रस्ट पारिन्। उनले भनिन्, “मानिसहरू बालकोटको दरबार कसरी बन्यो भन्छन्। तर, त्यो घर दरबार होइन। राष्ट्र बैंकमा ३३ वर्ष काम गरेँ। त्यही जागिरले बस्ने घर दियो। पेन्सनले विहान-बेलुका २ छाक खान पुग्छ। जसोतसो गरेर बनाएको घरबारे प्रश्न गर्नेहरूलाई हिसाब बुझाउन म तयार छु।”
शाक्यका अनुसार ओली २०४८ सालदेखि निरन्तर सांसद छन्, आफूले ३३ वर्ष राष्ट्र बैंकमा काम गरिन्, र २०६० सालमा बालकोटको घर निर्माण भयो। उनले भनिन्, “विवाहपछि १७ वर्ष डेरामा बसेँ। सबै कुरा किताबमा लेखिएको छ। यदि कोहीलाई प्रश्न छ भने, म एक–एक हिसाब दिन तयार छु।”




