काठमाडौं,१० फागुन । नेपाल पत्रकार महासंघले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) केबलकार निर्माणसम्बन्धी विवादमा समाचार सम्प्रेषण गर्दा सम्वेदनशील बन्न सञ्चारकर्मीलाई आग्रह गरेको छ।
शनिबार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारहरूलाई व्यावसायिक पत्रकारिता र आचारसंहिता पालना गर्दै निष्पक्ष समाचार सम्प्रेषण गर्न अनुरोध गरेका हुन्।
महासंघले हाल केबलकार परियोजना समर्थक र त्यसको विरोधमा रहेको ‘नो केबलकार’ समूहबीच बढ्दो विवादप्रति ध्यानाकर्षण भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ,
“व्यावसायिक पत्रकारिताका लागि पत्रकार आचारसंहिता महत्वपूर्ण आधार हो। यस घटनाको सन्दर्भमा पत्रकारिताको पेशागत मर्यादा कायम राख्दै तथ्यपरक, निष्पक्ष एवं मर्यादित समाचार सम्प्रेषण गर्न महासंघले आग्रह गर्दछ।”
महासंघले कुनै पनि पक्षबाट पत्रकारमाथि दुर्व्यवहार वा अनावश्यक दबाब दिन नहुने चेतावनीसमेत दिएको छ। साथै, पाथीभरा केबलकार परियोजनासम्बन्धी विवादलाई वार्ता, छलफल र समझदारीका माध्यमबाट समाधान खोज्न सबै पक्षलाई अनुरोध गरेको छ।



