काठमाडौं,१० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि अध्यक्ष बन्न सक्नेगरी पार्टीको विधान संशोधन गरिसकेका छन्। उमेर हदसमेत हटाइसकेपछि उनलाई तेस्रो कार्यकाल अध्यक्ष बन्न रोक्ने कुनै स्पष्ट चुनौती देखिँदैन। दोस्रो तहका नेताहरूले ओलीविरुद्ध उम्मेदवारी नदिने बताएका छन्, जसले उनको निरन्तरताको वातावरण बलियो बनाएको छ।
तर, एमालेभित्रकै केही नेताहरू ओलीलाई रोक्न वैकल्पिक रणनीति बनाइरहेका छन्। एमाले सचिवालयका सदस्यहरूका अनुसार, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउने प्रस्ताव सचिवालयभित्र बलियो रूपमा उठेको छ।
एमाले सचिवालयका बहुमत सदस्यहरू भण्डारीलाई नेतृत्वमा ल्याउनु उपयुक्त हुने पक्षमा रहेको दाबी गरिन्छ। “विद्याजीलाई पार्टीमा फर्किन आग्रह गरिरहेका छौँ,” एमालेका एक पदाधिकारीले भने। “सचिवालयका धेरै सदस्य उहाँ आउँदा राम्रो हुन्छ भन्ने पक्षमा छन्।”
विद्यादेवी भण्डारी एमालेको उपाध्यक्ष भइसकेकी छन् र सात वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन्। पार्टी नेतृत्वमा फर्कने हो भने उनले २०८४ को निर्वाचनमा एमालेलाई बलियो बनाउन सक्ने उनी पक्षधरहरूको विश्वास छ।
भण्डारीसँग नियमित राजनीतिक भेटघाट भइरहे पनि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल जस्ता केही नेताहरू भने अहिलेसम्म भेटघाटमा संलग्न छैनन्।
एमालेभित्र भण्डारीलाई पुनः नेतृत्वमा ल्याउने पक्षमा लागेका नेताहरू ओलीनिकट समूह उनलाई रोक्न सक्रिय रहेको दाबी गर्छन्।
“राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन हुँदैन भन्ने प्रचार गर्न ओलीनिकट नेताहरू लागेका छन्,” एक नेताले बताए। “तर, विद्याजी एमालेमा फर्किन चाहनुहुन्छ, तर ओली पक्षले रोक्ने योजना बनाइरहेको छ।”
तर, ओलीकै सहयोगले भण्डारीलाई अगाडि ल्याइएको इतिहास रहेको भन्दै केही नेताहरू दुबैबीच सहमति हुने सम्भावना रहेको बताउँछन्।
एमालेको महाधिवेशन २०८३ मा तोकिए पनि २०८२ मै गर्न छलफल भइरहेको छ। महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व परिवर्तनको चर्चा व्यापक छ।
भण्डारीको नेतृत्व आएमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग पुनः एकता सम्भव हुने दाबी केही नेताहरू गर्छन्। भीम रावलजस्ता नेताहरूलाई पुनः एमालेमा फर्काउनका लागि पनि भण्डारीको भूमिका महत्वपूर्ण हुनसक्ने धारणा राखिन्छ।
“ओली र भण्डारीबीच सहमति भए एमाले बलियो बन्नेछ, तर यदि प्रतिस्पर्धा भयो भने आन्तरिक द्वन्द्व चुलिन सक्छ,” एक पदाधिकारीले भने। “०८४ को चुनावमा एमाले बलियो बन्न विद्याजीको भूमिका महत्वपूर्ण हुनेछ।”
भण्डारीले पछिल्ला केही महिनादेखि विभिन्न जिल्ला दौडाहा गरिरहेकी छन्। भण्डारी पक्षधरहरूका अनुसार, जिल्ला तहको अवस्था बुझेर मात्रै उनी स्पष्ट निर्णयमा पुग्नेछिन्।
एमालेको आन्तरिक लोकतन्त्रबारे असन्तुष्टि बढिरहेको बेला, भण्डारीको पुनरागमनले निष्क्रिय नेताहरूलाई सक्रिय बनाउन सक्ने चर्चा भइरहेको छ। अब पार्टी नेतृत्वमा ओलीको निरन्तरता रहने वा भण्डारी नयाँ नेतृत्वका रूपमा उदाउने भन्ने विषय निकट भविष्यमा स्पष्ट हुने देखिन्छ।



