काठमाडौँ,९ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा उपलब्ध गराइने बताएका छन्।
आज बिहान पशुपति क्षेत्रको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले नेपाल तथा विश्वभरबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुहरूको सहजताका लागि आवश्यक व्यवस्थापन भइरहेको जानकारी दिए।
महाशिवरात्रि तयारी तीव्र
पशुपति क्षेत्रका विभिन्न स्थानमा हालै खानेपानी पाइप विच्छ्याउनेलगायत काम भइरहेकाले ती कार्यलाई छिटो व्यवस्थापन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्री पाण्डेले बताए। महाशिवरात्रिको तयारीलाई प्रभावकारी बनाउन सरकारी निकाय, सामाजिक संघ-संस्था तथा व्यक्तिहरूको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
मुख्य स्थानहरूको अवलोकन
मन्त्री पाण्डेले वनकाली, भुवनेश्वरी, घाट क्षेत्र, राममन्दिर, मृगस्थली, विश्वरुपलगायत स्थानमा भइरहेको तयारीको निरीक्षण गरे। उनले महाशिवरात्रिअघि नै सम्पूर्ण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्।
२०१ सदस्यीय मूल समारोह समिति गठन
महाशिवरात्रि भव्य रूपमा सम्पन्न गर्न मन्त्री पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। साथै, नौ वटा विषयगत उपसमिति गठन गरी तयारीलाई तीव्र बनाइएको छ।
साधुसन्तका लागि विशेष व्यवस्था
पशुपति क्षेत्रमा साधुसन्तहरूको आगमन सुरु भइसकेको छ। स्वर्गद्वारी आश्रमलगायतका संस्थाहरूले उनीहरूका लागि आवास, भोजन तथा धुनी ताप्ने व्यवस्था गरिसकेका छन्।
यस वर्ष भारतको प्रयागमा जारी महाकुम्भ मेलाबाट महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। पशुपति क्षेत्रका गुठी संस्थान तथा विभिन्न आश्रमहरूले दर्शनार्थी र साधुसन्तहरूका लागि विशेष व्यवस्थापन गरिरहेका छन्। परम्पराअनुसार महाशिवरात्रि सकिएपछि कोष र संस्थानले साधुसन्तहरूलाई दक्षिणासहित बिदाइ गर्ने कार्यक्रम छ।


