काठमाडौँ, ८ फागुन । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट चरम यातनासहित कुटपिट गरी अपमानपूर्वक निकालिएका १५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान १० बजेसम्म वीरगन्ज नाका हुँदै १५६ जना नेपाली विद्यार्थी नेपाल प्रवेश गरेका हुन्। तीमध्ये १५३ जना वीरगन्जको इनर्वा नाका हुँदै र ३ जना अलौं नाका हुँदै आएका हुन्। फर्किएका विद्यार्थीमध्ये २७ जना छात्रा र १२९ जना छात्र रहेको प्रहरीले जनाएको छ।
नेपालका विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनले अपमानजनक रूपमा निकालेको घटनाको सुरुवात गत आइतबार भएको थियो, जब केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु भयो। घटनाको न्यायिक छानबिनको माग गर्दै नेपाली विद्यार्थीहरूले आन्दोलन गरेपछि कलेज प्रशासनले सुरक्षागार्ड र गुण्डा लगाएर उनीहरूलाई कुटपिट गर्दै छात्रावासबाट निकालिदिएको थियो।
नेपाल फर्किएका विद्यार्थीहरू रेल र बसमार्ग हुँदै रक्सौल आइपुगेका थिए। त्यसपछि उनीहरू वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गरेका हुन्। वीरगन्ज नाका हुँदै आएका विद्यार्थीहरू पर्सा, बारा, रौतहट लगायतका जिल्लाका रहेका छन्।
वीरगन्ज नाका हुँदै आएका विद्यार्थीहरूलाई प्रहरी, वीरगन्ज महानगरपालिका, र साउथजोन माविले गाडीको व्यवस्था गरेर घर पठाएको छ। टाढा घर भएकाहरूलाई प्रहरीको सहयोगमा गन्तव्यसम्म पठाइएको एसपी मिश्रले जानकारी दिए।
विद्यार्थीहरूमाथि भएको यो घटनाले नेपाल सरकारलाई भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयमा गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ। कूटनीतिक पहलमार्फत भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्ने आवाज उठ्न थालेको छ।


