काठमाडौं, फागुन ५ – नेकपा (एमाले) ले बागमती प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश पदाधिकारी, जिल्ला इञ्चार्ज तथा अध्यक्षहरूसँग विस्तृत छलफल सम्पन्न गरेको छ।
छलफलमा प्रदेश सरकारले गरेका कामहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्षका सम्भावित योजना तथा कार्यक्रमहरूबारे सुझाव संकलन गरिएको थियो। कार्यक्रममा सहभागी ६ जना प्रदेश मन्त्रीहरूले हालसम्मको प्रगति र भावी कार्ययोजनाका विषयमा प्रस्तुति दिएका थिए।
बैठकमा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, बागमती प्रदेशका १३ जिल्ला इञ्चार्ज, पार्टी प्रदेशका पदाधिकारी तथा १३ वटै जिल्लाका अध्यक्षहरू उपस्थित थिए।
प्रदेश सरकारका तर्फबाट प्रस्तुति दिने मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल, स्वास्थ्य मन्त्री किरण थापा मगर, र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङ रहेका थिए।
प्रस्तुतीकरणपछि जिल्ला इञ्चार्ज र अध्यक्षहरूले मन्त्रीहरूलाई विभिन्न सुझाव प्रदान गरे। बैठकको सहजीकरण बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले गरेका थिए।


