काठमाडौं,२५ माघ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले मिडिया क्षेत्रको नियामक निकाय प्रेस काउन्सिल नेपाललाई मर्यादित, जिम्मेवार र पूर्वाग्रहरहित ढंगले कार्य गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ।
प्रदेश अध्यक्ष टेनिस रोकाको संयोजकत्वमा गएको प्रतिनिधि मण्डलले शुक्रबार काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई उनकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउँदै मिडिया र पत्रकारलाई दुःख दिने प्रावधान हटाउन माग गरेको छ। साथै, पत्रपत्रिका वर्गीकरणको काम पारदर्शी, निष्पक्ष र विवादरहित बनाउन जोड दिइएको छ।
प्रदेश समितिले सूचना विभागले अनलाइन मिडियाको दर्ता प्रक्रियाको कार्य गर्ने जिम्मेवारी पाइसकेको अवस्थामा काउन्सिलमा पुनः सूचीकरण गरी सञ्चालक तथा पत्रकारलाई थप झण्झट सिर्जना गर्ने कार्य रोक्न माग गरेको छ।
यसअघि विभिन्न अनलाइन मिडियालाई सूचीकरणबाट हटाएको निर्णयप्रति प्रदेश समितिले आपत्ति जनाउँदै तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ। ‘कालोसूचीमा राख्ने निर्णयप्रति प्रदेश समिति आपत्ति व्यक्त गर्दछ। यस्तो गम्भीर निर्णय अर्धन्यायिक निकायबाट नभई न्यायिक परीक्षण (ज्यूडिसिअल टेस्ट) बाट प्रमाणित भएको मात्र मान्य हुन सक्छ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ।
मिडिया विकास कोष अन्तर्गतका सेवा सुविधामा काठमाडौं उपत्यकालाई समावेश नगरिएकोप्रति पनि प्रदेश समितिले असन्तुष्टि व्यक्त गरेको छ। कार्यविधि संशोधन गरी सबैभन्दा धेरै पत्रकार तथा सञ्चारमाध्यम रहेको उपत्यका प्रदेशका जिल्लालाई सेवा सुविधामा समेट्न माग गरिएको छ।
ज्ञापन पत्र ग्रहण गर्दै अध्यक्ष बस्नेतले यस्ता ध्यानाकर्षणले काउन्सिलका काम कारबाहीलाई प्रभावकारी तथा जिम्मेवार बनाउन सहयोग पुग्ने बताए। उनले प्रदेश समितिका उचित मागहरू आगामी बैठकमा प्रस्तुत गरी सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
ज्ञापनपत्र बुझाउने क्रममा महासचिव आशिष गुरागाईं, कोषाध्यक्ष संजीप घिमिरे, काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाललगायतको उपस्थिति थियो।