काठमाडौं, माघ २४ – श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले राष्ट्रिय सामाजिक अवार्ड प्राप्त गरेका छन्। सिजन मिडियाद्वारा आयोजित ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२४’ कार्यक्रममा उपसभामुख इन्द्रिरा रानामगरले जैसीलाई सम्मान प्रदान गरेकी हुन्।
दशकौँदेखि श्रमजीवी पत्रकारहरूको हकहितका लागि निरन्तर संघर्ष गर्दै आएका जैसीलाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप अवार्ड प्रदान गरिएको हो। सिजन मिडियाले अवार्ड प्रदान गर्दै, “समाजप्रतिको उहाँको गहिरो समर्पण, सकारात्मक परिवर्तनका लागि गरिएको अथक प्रयास र सेवाभावको उच्च मूल्यांकनस्वरूप यो सम्मान दिइएको” जनाएको छ।
सिजन मिडियाले जैसीको कार्यकाललाई प्रेरणादायक र समाजका लागि महत्वपूर्ण रहेको बताउँदै, उनको योगदानको उचित कदर गरिनु आवश्यक रहेको उल्लेख गरेको छ। साथै, जैसीले आफ्नो करियरको अधिकांश समय समाजका पिछडिएका वर्गको हकहितका लागि समर्पित गरेको भन्दै उनको योगदानलाई उच्च सम्मान गरिएको छ।
कार्यक्रमका अवसरमा जैसीलाई आगामी दिनमा अझै सफलता, सुस्वास्थ्य र रचनात्मक जीवनको शुभकामना दिइएको छ। सिजन मिडियाले यो अवार्ड कार्यक्रमलाई आगामी वर्षहरूमा अझ प्रभावकारी बनाउँदै समाजका उत्कृष्ट व्यक्तित्वलाई सम्मान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ।
जैसीसहित अन्य केही समाजसेवी पनि सम्मानित भएका छन्।