काठमाडौं, माघ २४ – सरकारले सरकारी सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति जारी गर्दै सरकारी काम कारबाही तोकिएको समयमा सम्पन्न गर्न आग्रह गरेको हो।
कार्यालयले सेवाग्राहीको गुनासो सम्बोधन गर्दै काम समयमा नसक्ने कर्मचारीविरुद्ध उजुरी दिन अनुरोध गरेको छ। साथै, त्यस्ता कर्मचारीको अनुगमन प्रधानमन्त्री कार्यालय र सतर्कता केन्द्रले नियमित रूपमा गर्ने उल्लेख गरिएको छ।
सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक कार्यालयहरूले सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा सेवा दिनुपर्ने, कार्यसम्पादनमा ढिलाइ नगर्नुपर्ने तथा कम्प्युटर प्रणालीलाई नागरिक एपसँग जोडेर शीघ्र सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने निर्देशन दिइएको छ।
विज्ञप्तिमा तोकिएको समयभित्र काम नगर्ने पदाधिकारीविरुद्ध सेवाग्राहीले गुनासो टिपाउन सक्ने व्यवस्था गरिएको जनाइएको छ। सरकारले प्रभावकारी सेवा प्रवाहका लागि सूचना प्रविधिको व्यापक प्रयोगलाई जोड दिँदै छ।