पेसागत महासंघ नेपालको सातौं बैठक सम्पन्न, १५ बुँदे निर्णय सार्वजनिक

Categories:

-

काठमाडौं,१८ माघ । पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको सातौं बैठक काठमाडौंमा सम्पन्न भएको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालको अध्यक्षतामा माघ १६ र १७ गते बसेको बैठकमा नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा महासंघका इन्चार्ज रामेश्वर फुयाँल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। बैठकले पेशागत क्षेत्रका विभिन्न मुद्दामा १५ बुँदे निर्णय सार्वजनिक गरेको छ।

बैठकले राष्ट्रिय परिषद्को बैठक २०८१ चैत्र २२ र २३ गते काठमाडौंमा भव्य रूपमा गर्ने निर्णय गरेको छ। शिक्षकहरूको तलब मासिक रूपमा विद्यालय खातामा निकासा गर्नुपर्ने माग गर्दै संघीय सशर्त बजेट समयमै उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ।

निजामती कर्मचारी अस्पताल तथा निजी अस्पतालहरूमा नर्सिङ कर्मचारीलाई सुत्केरी विदा नदिइ जागिर छाड्नुपर्ने अवस्था रहेको भन्दै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार सहज रूपमा विदा उपलब्ध गराउन माग गरिएको छ। साथै, निजी अस्पतालहरूमा न्यूनतम पारिश्रमिक १७,३०० रुपैयाँ कार्यान्वयन गर्न र श्रम ऐनको उल्लंघन गर्ने अस्पतालहरूलाई कारबाही गर्न सरकारलाई अनुरोध गरिएको छ।

लोक सेवा आयोगको विज्ञापनलाई सर्वोच्च अदालतले स्थगित गरेको सन्दर्भमा, ढिलो आदेश आउँदा कतिपय उम्मेदवारको उमेर हद नाघ्ने र युवा विदेशिनुपर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै यसबारे तत्काल निर्णय गर्न आग्रह गरिएको छ।

बैठकले विभिन्न सार्वजनिक संस्थानका कर्मचारीले लामो समयदेखि तलब नपाएको विषय उठाउँदै नेपाल सरकारले घाटामा गएका संस्थाहरूलाई अनुदान दिनुपर्ने माग गरेको छ। साथै, महासंघको नवीकरण प्रक्रियालाई अझै टुङ्गो नलागेकोमा असन्तोष व्यक्त गर्दै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई तत्काल प्रक्रिया टुंग्याउन आग्रह गरिएको छ।

सार्वजनिक संस्थानहरूमा बैंक, बीमा तथा अन्य संस्थानका प्रमुखहरूले मनोमानी रूपमा सरुवा, शाखा परिवर्तन गर्ने कार्य रोक्न माग गरिएको छ। संघीय निजामती सेवा विधेयक तथा विद्यालय शिक्षा विधेयक यसै संसद अधिवेशनबाट पारित गर्न दबाब दिइएको छ।

बैठकले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन अभियान चैतसम्म सबै प्रदेशमा सञ्चालन गर्ने निर्णय गरेको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले USAID सहयोग रोक्ने निर्णय गरेमा नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने महासंघको निष्कर्ष छ।

महासंघले निर्णयहरू विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन गर्न पत्रकारहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य