नेपाल बार एशोसिएशनको निर्वाचन चैत २३ गते हुने

Categories:

-

काठमाडौँ,१८ माघ ।नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुने भएको छ। हिजो बसेको बार कार्यसमितिको बैठकले सो मितिमा निर्वाचन गर्ने निर्णय गरेको हो।

बार एशोसिएशनका महासचिव अञ्जिता खनालका अनुसार निर्वाचनको तयारी तीव्र पारिएको छ। निर्वाचनको व्यवस्थापनका लागि पाँच सदस्यीय समिति गठन गरिने भएको छ। ‘निर्वाचन समितिमा रहने सदस्यहरुको नाम लगभग तय गरिसकिएको छ,’ महासचिव खनालले भनिन्, ‘तर, एक-दुई सदस्यले सहभागी हुन नसक्ने जनाएकाले पुनः बैठक बसेर टुंगो लगाइनेछ।’

नेपाल बार एशोसिएशनको निर्वाचन हरेक तीन वर्षमा हुने गर्छ। यसमा देशभरका कानुन व्यवसायीहरुले प्रत्यक्ष मतदान गर्ने व्यवस्था छ। बारको केन्द्रीय कार्यसमितिमा २५ जना सदस्य रहने प्रावधान छ। अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा विभिन्न क्षेत्रीय प्रतिनिधि पदमा उम्मेदवारहरु प्रतिस्पर्धा गर्नेछन्।

यसपटकको निर्वाचनलाई कानुनी क्षेत्रका विज्ञहरुले महत्वपूर्ण मानेका छन्। बारको नेतृत्व परिवर्तनले न्याय क्षेत्रको नीतिगत निर्णय र कानुन व्यवसायीहरुको हकहितमा प्रभाव पार्ने भएकाले विभिन्न समूहहरु सक्रिय भएका छन्।

नेपाल बार एशोसिएशन नेपालको कानुनी पेशासँग सम्बन्धित सबैभन्दा ठूलो छाता संगठन हो। न्यायपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने यो संस्थाले कानुन व्यवसायीहरुको पेशागत हकहित संरक्षण, न्याय प्रणाली सुधार तथा विधिको शासन प्रवर्द्धन गर्ने कार्य गर्दै आएको छ।

बार एशोसिएशनको निर्वाचन नजिकिँदै गर्दा कानुन व्यवसायीहरूमाझ उम्मेदवारहरूको चर्चा सुरु भइसकेको छ। उम्मेदवारहरु आ-आफ्ना समूह बनाएर प्रचार-प्रसारमा जुट्न थालेका छन्। प्रमुख पदहरुमा को-को उम्मेदवार बन्ने भन्ने विषय चाँडै टुंगो लाग्ने अपेक्षा गरिएको छ।

निर्वाचन प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन बार नेतृत्वले आवश्यक पूर्वतयारी गरिरहेको जनाएको छ। निर्वाचन समितिले छिट्टै कार्यविधि सार्वजनिक गर्नेछ। कानुन व्यवसायीहरु भने निर्वाचन प्रक्रियालाई सुचारु रूपमा सम्पन्न गर्न आवश्यक पहल गर्न संस्थापन पक्षसँग आग्रह गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य