काठमाडौं, १७ माघ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएकाले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्य अपरिहार्य भएको बताएका छन्।
प्रेस चौतारी नेपाल, ललितपुरको छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले यी दुई दल मिलेर सरकार गठन गरेको स्पष्ट पारे। विगतमा राष्ट्रलाई संकट पर्दा कांग्रेस र एमाले मिलेर अघि बढेको उल्लेख गर्दै उनले अहिले पनि राष्ट्रिय आवश्यकता अनुरूप सहकार्य भएको बताए।
सहकारीको रकम अपचलन प्रकरणमा सरकारले कारबाही अघि बढाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसलाई आफ्नोविरुद्धको षड्यन्त्रका रूपमा व्याख्या गर्नु अनुचित भएको उनले बताए। सहकारी ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यस मुद्दामा कुनै पूर्वाग्रह नरहेको स्पष्ट पारे।
वर्तमान सरकार ढल्ने दाबी गर्दै समय तोक्नेहरू कांग्रेस–एमाले सम्बन्ध बलियो भएको देखेर छटपटाएको उनले टिप्पणी गरे। बारम्बार सरकार परिवर्तनका लागि गरिएको प्रयास असफल भएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ती घटनाक्रमको केन्द्रमा रहेको उनले बताए।
ज्ञवालीले लोकतन्त्रको मूल्यमान्यता बलियो बनाउन पत्रकारितामा विश्वसनीयता अपरिहार्य रहेको उल्लेख गर्दै तथ्यमा आधारित आलोचना गर्नुपर्ने बताए। उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुनी व्यवस्था आवश्यक भएको बताउँदै सरकारले त्यसका लागि नयाँ ऐन ल्याउन लागेको जानकारी दिए। संसदमा छलफलपछि सञ्चार क्षेत्रका सरोकारवालासँग परामर्श गर्दै आवश्यक संशोधन गरिने उनले बताए।
उनले सत्यलाई नजोगाउने हो भने असत्यको भीडमा सत्य नै हराउने चेतावनी दिए। सत्यको रक्षा गर्न प्रेस चौतारी नेपालले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले पत्रकारिता पेसालाई मर्यादित, तथ्यपूर्ण र जिम्मेवार बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताए।
प्रेस चौतारी नेपाल, ललितपुरको छैठौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। नव निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै ज्ञवालीले निष्पक्ष र उत्तरदायी पत्रकारिताका लागि सशक्त भूमिका खेल्न आग्रह गरे।
निर्वाचित पदाधिकारीहरू:
अध्यक्ष: नवीन लुइँटेल
उपाध्यक्ष: अशोक दुलाल
उपाध्यक्ष (महिला): शान्ति घिमिरे
सचिव: सन्तोष दाहाल
सहसचिव: लक्षमण दुलाल
सहसचिव (समावेशी): रवि महर्जन
कोषाध्यक्ष: समीर थापा
सदस्यहरू:
सुभान आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी, ज्ञानु दुलाल
केन्द्रीय पार्षद:
बालमुकुन्द आचार्य, घनश्याम धमला, शान्ति घिमिरे, प्रवीण कुलुङ राई, अशोक दुलाल, सन्तोष दाहाल
प्रदेश पार्षद:
जीबी लामा, सौगात मिश्र, नवराज सन्जेल, दीपकप्रसाद घिमिरे, सुभानु आचार्य, विधान रिजाल


