एपी, रोयटर्स/ काठमाडौँ १७ माघ। वासिङ्टन – बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमै ठोक्किँदा भएको दुर्घटनामा हालसम्म २८ जनाको शव फेला परेको छ। विचिटा, क्यान्ससबाट वासिङ्टनतर्फ जाँदै गरेको विमान बिहीबार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।
प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेका थिए। दुर्घटनापछि विमानमा आगलागीसमेत भएको थियो। विमानमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ६४ जना सवार रहेका थिए भने हेलिकप्टरमा ३ जना सैनिक अधिकारी थिए। प्रारम्भिक अनुसन्धानअनुसार कोही पनि जीवित नरहेको आशंका गरिएको छ।
वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीका अनुसार उद्धार कार्य जारी राखिएको छ। करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याक नदीमा खोजी गरिरहेका छन्, तर रातको समय, चिसो मौसम, कम दृश्यता र धमिलो पानीका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ। उनले भने, ‘हामी सक्दो प्रयास गरिरहेका छौँ, तर मौसमका कारण उद्धार चुनौतीपूर्ण बनेको छ।’
दुर्घटनाको कारणबारे औपचारिक रूपमा केही खुलाइएको छैन। तर, प्रारम्भिक अनुमानअनुसार खराब मौसम वा उडानमार्ग समायोजनको गडबडीका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले घटनाको अनुसन्धान गरिरहेका छन्।
यसअघि पनि पोटोम्याक नदी नजिकै सन् १९८२ मा एअर फ्लोरिडा फ्लाइट ९० दुर्घटना भएको थियो, जसमा ७८ जनाको ज्यान गएको थियो। पछिल्लो दुर्घटनाले अमेरिकाको उड्डयन सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। राष्ट्रपति कार्यालयले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई संवेदनाका शब्द व्यक्त गरेको छ।


