सिन्धुपाल्चोकमा १२ वर्षपछि फेरि पलायो नयाँपानी धामको अद्भुत पानीको मूल

Categories:

-

सिन्धुपाल्चोक, १७ माघ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका-५, सिपा धुसिनीस्थित नयाँपानी धाममा माघ १६ गते पुनः पानीको मूल पलाएको छ। हरेक १२ वर्षको अन्तरालमा हिउँदमा मूल फुट्ने र वर्षायाममा सुक्ने परम्परागत विशेषता बोकेको यो स्थान धार्मिक र प्राकृतिक रूपमा महत्वपूर्ण मानिन्छ।

नयाँपानी क्षेत्र संरक्षण समितिका अध्यक्ष माननाथ नेपालका अनुसार, यसअघि २०६८ सालको कार्तिक महिनामा पलाएको पानी २०६९ को असारमा सुकेको थियो। यो क्रम निरन्तर चलिरहे पनि अघिल्लो वर्ष मूल नफुट्दा स्थानीयवासी चिन्तित भएका थिए। त्यसपछि क्षमापूजा तथा धार्मिक अनुष्ठानहरू गरिएको थियो।

समितिका कोषाध्यक्ष बुद्धीप्रसाद आचार्यका अनुसार, गत वर्ष पानी नफुट्नुको कारणबारे विभिन्न अड्कल गरिए। २०७२ सालको भूकम्पको प्रभाव, वैदिक महायज्ञ, वा नागदेवताहरूको असन्तुष्टि भएको अनुमान गरिँदै क्षमापूजा, नागदेवताकाे स्थापनालगायत अनुष्ठानहरू गरिए। पुससम्म पनि मूल नफुटेपछि स्थानीयले आशा गुमाइसकेका थिए। तर, माघ १६ गते औंसीका दिन अचानक मूल पलाएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्।

नयाँपानी धामको संरक्षण र प्रचार-प्रसारका लागि २०६८ सालमा ‘नयाँपानी स्नान मकर महोत्सव’ आयोजना गरिएको थियो। सोही अवसरमा भएको सप्ताह ज्ञान महायज्ञबाट संकलित भेटी तथा दानबाट क्षेत्रको विकासका लागि भवन निर्माण गरिएको थियो।

काठमाडौंबाट करिब ५० किलोमिटरको दूरीमा रहेको नयाँपानी धाम ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ। यस क्षेत्रको अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनका लागि इन्द्रावती गाउँपालिका-५ का वडाध्यक्ष शशिनाथ आचार्यले सर्वसाधारणलाई भ्रमण गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य