विराटनगर,१६ माघ । शीतल निवासबाट बाहिरिएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चुपचाप बस्ने अपेक्षा धेरैको थियो । तर उनी राजनीतिक भेटघाट र गतिविधिमा सक्रिय देखिन थालेकी छन्। यसैक्रममा, उनी कोशी प्रदेश भ्रमणका क्रममा इटहरीमा आयोजित एक कार्यक्रममा सहभागी भइन्।
कार्यक्रममा उनले पार्टी भनेको केवल कमिटी वा चुनाव जित्ने माध्यम मात्र नभएको बताइन्। “राजनीति भनेको काम गर्ने हो, पद मात्रै ओगट्ने होइन,” भन्दै उनले अहिले राजनीति यान्त्रिक बन्दै गएको टिप्पणी गरिन्। एमालेकै केही नेताहरूले उनको सक्रियतालाई सहज रूपमा नलिएको चर्चा भइरहेका बेला उनले “अब म राष्ट्रपतिको भूमिकामा छैन, तर एमालेमा त छौँ नि!” भनेर प्रस्ट पारिन्।
इटहरीमा आयोजित कार्यक्रममा एमालेका उपाध्यक्ष गुरु बराल, पूर्व मन्त्री भगवती चौधरी, राष्ट्रिय सभा सदस्य इन्दु गौतम, प्रदेश सरकारका मन्त्री रेबतीरमण भण्डारीसहित थुप्रै नेताहरू सहभागी थिए।
पूर्व राष्ट्रपति भण्डारीले महिलाहरूको नेतृत्वमा आउनुपर्ने जोड दिँदै भनिन्, “नेतृत्वमा पुग्न महिलाहरूले धेरै जन्जिर तोड्नुपर्छ।” उनले विद्यार्थी कालको संस्मरण सुनाउँदै महिलाहरूलाई दोस्रो तहमा सीमित राख्ने प्रवृत्तिमाथि प्रश्न उठाइन्।
भण्डारीले स्वास्थ्य क्षेत्रको प्रसंग निकाल्दै पार्टीहरूले राम्रो काम नगरेको धारणा राखिन्। “डाक्टरको व्यवहारले बिरामीलाई आधा निको पार्नुपर्छ, तर व्यवहार उल्टै २०० प्रतिशत बिरामी बढाउने खालको छ,” भन्दै उनले स्वास्थ्य सुधारमा ध्यान दिनुपर्ने बताइन्।
उनले आफू राष्ट्रपति हुँदाको सुरक्षा घेराको चर्चा गर्दै भनिन्न, “अब म तपाईँहरूको सुरक्षा घेरामा छु, छलफल गर्न फुर्सदमा छु।” विराटनगरमा उनले पत्रकार, विद्यार्थी, महिला संघका नेतृहरू तथा एमालेका थुप्रै नेताहरूसँग भेटघाट गरिन्।
यस भेटघाटलाई भण्डारीको भविष्य राजनीतिक भूमिकासँग जोडेर हेरिएको छ। पूर्व एमाले उपाध्यक्षसमेत रहेकी भण्डारीले इटहरी कार्यक्रम सञ्चालन गरेका एमाले उपाध्यक्ष गुरु बराललाई “तपाईँले मेरो जिम्मेवारी बोक्नुभयो भने विचार पनि बोक्नुपर्छ” भनेपछि हलमा ताली बजेको थियो।
भण्डारीको सक्रियताले एमालेभित्र र बाहिर नयाँ राजनीतिक बहसको सिर्जना गरेको छ।