प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन चैत १६ र १७ गते हुने

Categories:

-

काठमाडौं,१६ माघ । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालले आफ्नो पाँचौँ राष्ट्रिय महाधिवेशनको मिति तय गरेको छ। मंगलबार काठमाडौंमा बसेको संगठनको केन्द्रीय समिति बैठकले आगामी चैत १६ र १७ गते राजधानीमै महाधिवेशन गर्ने निर्णय गरेको हो।

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलका अनुसार संगठनको २१औँ स्थापना दिवसको अवसरमा बसेको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक संरचना तयार पार्ने निर्णयसमेत गरेको छ। बैठकले महाधिवेशनका लागि सचिवालयसहित विभिन्न उपसमितिहरू गठन गरेको छ।

महाधिवेशन सफल बनाउन मूल व्यवस्थापन समिति, प्रतिवेदन लेखन समिति, निर्वाचन समिति, अध्यक्ष मण्डल, प्रचार तथा प्रकाशन समिति, आर्थिक व्यवस्था समिति, सदस्य तथा प्रतिनिधि अभिलेखिकरण तथा अनुगमन समिति, अतिथि सत्कार समिति लगायत विभिन्न समितिहरू गठन गरिएको पौडेलले जानकारी दिए।

बैठक नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख अग्नि सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाले प्रस्तुत गरेको प्रस्ताव र कार्यसूचीमा सहभागी सदस्यहरूले धारणा राखेपछि सर्वसम्मत पारित गरिएको थियो।

महाधिवेशनको तयारीसँगै संगठनले समसामयिक राजनीतिक तथा पत्रकारिता क्षेत्रका मुद्दालाई सम्बोधन गर्दै १५ बुँदे ‘काठमाडौं घोषणा पत्र’ जारी गरेको छ। घोषणापत्रमा प्रेस स्वतन्त्रता, पत्रकारहरूको पेशागत सुरक्षाका साथै संगठनको भावी कार्यदिशाबारे स्पष्ट मार्गचित्र प्रस्तुत गरिएको छ।

प्रेस सेन्टर नेपालले विगतदेखि नै माओवादी केन्द्रको विचारधारासँग नजिक रहँदै पत्रकारहरूको हकहितका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। पाँचौँ महाधिवेशनले संगठनको आगामी नेतृत्व चयन गर्नुका साथै भावी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

महाधिवेशनमा देशभरका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ। साथै, यसले संगठनभित्रको आन्तरिक सशक्तीकरणका साथै मुलुकको पत्रकारिता क्षेत्रलाई नयाँ दिशा दिन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य