काठमाडौँ, १५ माघ । बूढानीलकण्ठ नगरपालिकाले फाल्गुण २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्न गइरहेको छ। “शिक्षा, सीप र क्षमता: रोजगारी हाम्रो प्राथमिकता” भन्ने नाराका साथ आयोजना हुने मेलाको जानकारी नगरपालिकाले आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा दिएको हो।
२०७८ सालदेखि वृत्ति तथा रोजगार मेला आयोजना गर्दै आएको नगरपालिकाले यसपालि युवा रोजगारीलाई प्राथमिकतामा राखेको जनाएको छ। नगर प्रमुख मिठा राम अधिकारीले पत्रकारहरूसँग कुरा गर्दै नगरका बेरोजगार युवालाई रोजगारीसँग जोड्ने यो प्रयासले स्थायित्व र दीगो विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
यसअघि आयोजित मेलाहरूमा बेरोजगार युवाको तथ्यांक संकलन, तालिमको माग पहिचान, र सीपमूलक तालिम प्रदान गरिएको थियो। नगरपालिकाले २० जनालाई १० महिने प्लम्बर तालिम, ६० जनालाई खानाका परिकार बनाउने तालिम र ४० जनालाई कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिसकेको छ। १२ सामुदायिक विद्यालयमा वृत्ति परामर्श कार्यक्रमसमेत सञ्चालन भएको छ।
यसपटकको मेलामा ४८ वटा स्टल रहनेछन्। तीमध्ये २८ स्टल रोजगारदाताका, ६ सीप तथा तालिम प्रदायकका, ३ युवा उद्यमीका, र बाँकी रमाइलो तथा विविध क्षेत्रका हुनेछन्। नगरपालिकाले १० भन्दा बढीलाई रोजगारी दिन सक्ने उद्यमहरूलाई प्राथमिकता दिएको छ।
मेलाको विशेष आकर्षणका रूपमा १४० बेरोजगार युवाको बायोमेट्रिक परीक्षणमार्फत वृत्ति पहिचान गरिनेछ। २५० जनालाई डिजिटल प्रविधिबाट वृत्ति पहिचानसम्बन्धी जानकारी दिइने छ। साथै, मेलाको अवधिमा ५० जनाले एकल परामर्श र ४०० जनाले सामूहिक वृत्ति तथा रोजगार परामर्श पाउनेछन्।
मेलाको तयारीका लागि नगर प्रमुख मिठाराम अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। मेलामा २५ हजारभन्दा बढी सहभागी भइने अपेक्षा गरिएको छ। नगरपालिकाले १६ देखि ४० वर्षका बेरोजगार युवालाई अनलाइन वा वडा कार्यालयमार्फत माघ २५ भित्र फारम भर्न आह्वान गरेको छ।
पत्रकार भेटघाट कार्यक्रममा उपप्रमुख अनिता लामाले मेलाले नगरभित्रका युवाहरूलाई रोजगारीसँग जोड्ने मात्रै होइन, उनीहरूको सीप र क्षमतालाई प्रोत्साहित गर्ने पनि कार्यक्रममा बताइन्।


