काठमाडौं, १५ माघ । लोकसेवा आयोगले सर्वोच्च अदालत र उच्च अदालत पाटनको आदेशका कारण शाखा अधिकृत पदको परीक्षा स्थगित गरेको छ। आयोगले सोमबार सूचना प्रकाशित गर्दै मंसिर २६ गते प्रकाशित शाखा अधिकृतका विभिन्न विज्ञापन अन्तर्गतका परीक्षा कार्यक्रम अर्को सूचना नआउञ्जेल स्थगित गरिएको जानकारी गराएको छ।
यसअघि दुई परीक्षा स्थगित भइसकेको अवस्थामा यो विज्ञापनसमेत स्थगित भएपछि परीक्षार्थीहरू अन्योलमा परेका छन्। स्थगित भएका विज्ञापनहरू खुला तथा समावेशी तर्फका रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका अप्राविधिक पदका परीक्षा हुन्।
आयोगले जारी सूचनामा अदालतको आदेश कार्यान्वयन गर्न बाध्य भएको उल्लेख गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा रोकिएको स्पष्ट पारेको छ। परीक्षार्थीहरूले यस निर्णयले करियर योजनामा असर परेको भन्दै चाँडो समाधानको माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्


