सूर्यविनायक नगरपालिकाले नयाँ भवनबाट सेवा सुरु गर्‍यो

Categories:

-

भक्तपुर, १५ माघ । सूर्यविनायक नगरपालिकाले आजदेखि आफ्नै नयाँ सुविधासम्पन्न भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ। यसअघि नगरपालिका टङ्कप्रसाद आचार्य प्रतिष्ठानको भाडाको भवनबाट सञ्चालनमा रहेको थियो।

नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाका अनुसार, नगर प्रमुख, उपप्रमुखका कार्यकक्षसहित अन्य महत्वपूर्ण शाखाहरू नयाँ भवनमा स्थानान्तरण गरिएको छ। बाँकी शाखाहरू भोलि र पर्सिको सार्वजनिक बिदामा सारिनेछन्।

नयाँ भवनमा ९२ कार्यकक्ष, स्तनपान कक्ष, अपाङ्गमैत्री पहुँच, दुई तल्लाको पार्किङ (५ सय सवारी अट्ने), दुईवटा लिफ्ट, तीन सयजना अट्ने सेमिनार हल, दुई वैठक कक्ष, पुस्तकालय, र तालिम कक्षलगायत सुविधाहरू छन्।

नगर प्रमुख वासुदेव थापाले २०७४ सालमा केवल दुई कोठा र दुईजना कर्मचारीसहित सुरु भएको कार्यालयले अहिले आधुनिक भवनबाट सेवा दिन थालेको बताए।

६ रोपनी ११ आना क्षेत्रफलमा निर्माण गरिएको भवनको लागत रु २० करोड ४१ लाख ५२ हजार रहेको छ। संघीय सरकार र जिल्ला समन्वय समितिको आंशिक सहयोग तथा नगरपालिकाको आफ्नै लगानीमा भवन निर्माण गरिएको हो।

भवन निर्माणले मासिक रु १ लाख २० हजार भाडाको भार कम गरेको नगरपालिकाले आगामी २०८३ जेठ मसान्तसम्म बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यसमेत राखेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य