मदन राई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर, सजाय माघ २५ मा तोकिने

Categories:

-

खोटाङ, १३  माघ।  यौन दुर्व्यवहारको आरोपमा मदन राईलाई अदालतले दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि माघ २५ गते पेशी तोकिएको छ।

२०८० जेठ २१ गते बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गत राईविरुद्ध मुद्दा दर्ता भएको थियो। उक्त आरोपका आधारमा वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले उनलाई पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि ४ लाख धरौटीमा उनी रिहा भएका थिए।

राईले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेसनमै अध्ययन गरेकी एक बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको जाहेरी दिएको बताइएको छ। जाहेरीपछि प्रहरीले जेठ ३ गते उनलाई पक्राउ गरी बयान लिएको थियो। बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरे। तर, ती गतिविधि यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उद्देश्यले गरेको दाबी उनले गरेका थिए।

प्रहरी र सरकारी वकिलको अनुसन्धानपछि अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणको प्रक्रिया अघि बढाएको हो। बालबालिका सम्बन्धी ऐनको दफा ६६ अनुसार दोषी प्रमाणित व्यक्तिलाई तीन वर्षभन्दा बढी कैद सजाय तोकिने व्यवस्था छ।

राईले कृषि विज्ञका रूपमा ख्याति कमाएका थिए। तर, बालबालिकामाथि यौन दुर्व्यवहारको अभियोगले उनको छवि धुमिल बनाएको छ।

अब माघ २५ गते हुने पेशीमा अदालतले उनलाई कति वर्षको कैद सजाय हुने भन्ने टुंगो लगाउनेछ। यो घटनाले बालबालिका सुरक्षाका विषयमा समाजलाई थप सचेत गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य