बुटवल,१३ माघ। पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको थुनछेक बहस आज पनि रूपन्देही जिल्ला अदालतमा जारी रहने भएको छ। सहकारी ठगी मुद्दामा उनी बिहीबारदेखि अदालतमा उपस्थित भइरहेका छन्।
सरकारी वकिलको तर्फबाट बहस सकिए पनि लामिछाने पक्षका केही वकिलको बहस बाँकी रहेकाले आजै बहस टुंग्याउने तयारी छ। उनी रुपन्देही अदालतमा पत्नी निकिता पौडेल र कानूनी व्यवसायीको जिम्मामा उपस्थित भएका थिए।
सुप्रिम सहकारी ठगी प्रकरणमा १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख रुपैयाँ हिनामिना भएको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। लामिछानेलाई पुरक उजुरीमा संलग्न गराइएको हो।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा र २ करोड रुपैयाँ लामिछानेको नाममा ऋण गएको तथ्य फेला पारेको छ। उनी यसअघि कास्की र काठमाडौंमा धरौटी बुझाएर छुटेका थिए।
चितवन र पर्साका मुद्दामा बयान दिन बाँकी रहेको बताइएको छ।


