काठमाडौं,६ माघ । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष बामदेव गौतम नेकपा एमालेमै फर्किने भएका छन्। अभियानका नेता डीबी कार्कीका अनुसार गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा संवाद गरेर एमालेमा जाने निर्णय गरेका हुन्।
कार्कीले शुक्रबार बालुवाटारमा भएको भेटघाट र शनिबार बिहान ओलीसँग भएको फोन संवादपछि गौतमको एमाले फर्किने निर्णय पक्का भएको जानकारी गराए। “अब हामी नअल्मलिने भयौं, एमालेमै जाने भयौं,” कार्कीले भने।
तर, गौतमको निर्णयले अभियानभित्र असन्तुष्टि पनि देखिएको छ। अभियानमा रहेका महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा, र डिल्लीराज भट्टले एकीकृत समाजवादीसँग एकता हुनुपर्ने अडान राख्दै अभियान छाडेको घोषणा गरेका छन्। कार्कीका अनुसार, एकीकृत समाजवादीले एकताका नाममा अलमल गराएको र विश्वास गर्न नसकिने अवस्थाका कारण त्यो पार्टीसँगको संवाद समाप्त भएको हो।
“अब हाम्रो कुरा कोहीसँग हुँदैन। अहिले एमालेसँग एकता गर्छौं, र त्यसपछि अन्य वामपन्थीलाई एमालेको धारमा ल्याउने प्रयासमा लाग्छौं,” कार्कीले थप जानकारी गराए।
गौतमका प्रेस सहयोगी तथा समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले पनि शुक्रबार अभियान र संगठन छाडेर एमालेमा प्रवेश गरेका थिए। सुवेदीको प्रवेशपछि ओलीले गौतमलाई छलफलका लागि बालुवाटार बोलाएका थिए। शुक्रबारको भेटघाट र शनिबारको फोन संवादपछि गौतमको एमालेमा फर्किने निर्णय औपचारिक भएको हो।
यो निर्णयले नेपाली वामपन्थी राजनीतिमा नयाँ समीकरणको सुरुवात गर्न सक्ने अनुमान गरिएको छ। गौतमको पुनरागमनले एमालेभित्र बलियो वामपन्थी एकताका प्रयासलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।