कुलमान विवादपछि खड्कामाथि हातपात: थप विवादको डरले घटना लुकाइयो

Categories:

-

काठमाडौँ,४ माघ । उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री दीपक खड्कामाथि मन्त्रालयमै हातपातको घटना भएको खुलासा पुस २६ गतेको एक घटनाबाट भएको हो। करिब एक हप्तापछि यो कुरा कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पार्टी मन्त्रीहरूको बैठकमा बाहिर आयो।

मन्त्री खड्काले बैठकमा मन्त्रालयका गतिविधिबारे चर्चा गर्दै आफूमाथि हातपातको घटना सुनाए। खड्काका अनुसार, गोरखातिरका एक व्यक्तिले मानसिक असन्तुलनका कारण हातपातको प्रयास गरेका थिए। सुरक्षाकर्मीहरूले समयमै हस्तक्षेप गरेर उनलाई बचाए। खड्काले अन्य मन्त्रीहरूलाई सतर्क रहन सुझाव दिँदै घटना सुनाएका थिए।

गृहमन्त्री रमेश लेखकले घटना लुकाएर राखिएको विषयमा प्रश्न उठाएपछि खड्काले थप विवरण खुलाए। उनका अनुसार, हरि पोखरेल नामक व्यक्तिले दुव्र्यवहार गरेको र सुरक्षाकर्मीहरूले अवस्था नियन्त्रणमा ल्याएको बताए। खड्काले यो घटना थप विवादमा नजाओस् भन्ने उद्देश्यले गोप्य राखिएको बताएका छन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको विवादपछि आलोचनामा रहेका मन्त्री खड्काले यो विषयले थप नकारात्मक असर पार्न सक्ने भन्दै प्रहरीलाई घटनाबारे हल्ला नगर्न सुझाएको बुझिएको छ।

हातपातमा संलग्न भनिएका व्यक्तिलाई एक दिन सिंहदरबार प्रहरी वृत्तमा राखेर रिहा गरिएको जानकारी आएको छ। तर, मन्त्रीमाथिको यस्तो आक्रमणले मन्त्रीहरूको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य