श्रम अदालतको आदेशको अवज्ञा गर्दै ३७ श्रमिकलाई पशुपति क्षेत्र विकास कोषले काममा लगायो रोक

Categories:

-

काठमाडौँ, २२ पुस । श्रम अदालत भक्तपुरको आदेशको अवज्ञा गर्दै पशुपति क्षेत्र विकास कोषले ३७ जना सरसफाइ श्रमिकलाई काममा रोक लगाएको छ। नियमित कामका लागि अदालतले दिएको अन्तरकालीन आदेशका बावजुद श्रमिकलाई हाजिर गर्न नदिइएपछि विवाद चुलिएको छ।

२०७५ सालदेखि पशुपति मन्दिरको सरसफाइमा खटिएका ४० जना श्रमिकमध्ये ३ जनालाई मात्र नियुक्ति पत्र दिइएको थियो। बाँकी ३७ जना श्रमिकले नियमित रोजगार सम्झौताको माग गर्दै श्रम विभागमा निवेदन दिएका थिए। त्यसपछि विषय श्रम अदालतमा पुगेको थियो। अदालतले २०८१ मंसिर १९ मा श्रमिकलाई नियमित पारिश्रमिक भुक्तानी गर्न र श्रमिक आपूर्तिकर्ता मार्फत सम्झौता गर्न दबाब नदिन आदेश दिएको थियो।

तर, श्रमिकहरूले आरोप लगाउँदै भनेका छन् कि सरसफाइ नाइके सन्तोष कार्की र महेश्वर राजवंशीले कुनै पनि हालतमा काम गर्न नदिने धम्की दिएका छन्। २०८१ पुस १ गते बिहान काममा जान खोज्दा नाइकेहरूले “खुकुरी नेपाल” नामक कम्पनीको फाराममा हस्ताक्षर नगरेसम्म हाजिर गर्न नदिने बताएका थिए।

श्रमिकहरूले अदालतको आदेश अनुसार काममा लगाउन पटक–पटक कोषमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। पुस ५ मा अदालतले श्रमिकलाई यथास्थितिमा काममा लगाउन अल्पकालीन अन्तरकालीन आदेश दिएको थियो। पुस १८ मा दुबै पक्षको बहसपछि अदालतले आदेशलाई निरन्तरता दिएको छ।

तर, अदालतको आदेशलाई बेवास्ता गर्दै कोषले श्रमिकलाई काममा लगाउन आनाकानी गरेको छ। श्रमिकहरूले अदालतको आदेशको प्रतिलिपी सहित कोषमा निवेदन दर्ता गरे पनि हालसम्म हाजिर गर्न नदिइएको बताइन्छ।

यस विषयमा कोष प्रशासनको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। श्रमिकहरूले न्याय सुनिश्चित गर्न सम्बन्धित निकायहरूमा पहल गरिरहेका छन्। अदालतको आदेश अवज्ञा गर्नेहरूमाथि कानूनी कारबाही हुनुपर्ने श्रमिकहरूको माग छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य