काठमाडौँ, २१ पुस । अभिनेत्री रिमा विश्वकर्माले भारतीय वायुसेवा कम्पनी एयर इन्डियाको सेवा र सुविधाप्रति गम्भीर असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश व्यक्त गरेकी छन्। अमेरिकादेखि काठमाडौंसम्मको उडानका क्रममा खराब व्यवस्थापन, गैरव्यवसायिक कर्मचारी व्यवहार, र गुणस्तरहीन सेवाबारे उनले गुनासो पोखेकी हुन्।
कनेक्टिङ फ्लाइट छुट्ने समस्या
रिमा न्युयोर्कबाट ढिलो उडान हुँदा दिल्लीको कनेक्टिङ फ्लाइट छुटेको र त्यसबारे एयर इन्डियाका कर्मचारीलाई जानकारी गराउँदा कुनै सहयोग नपाएको बताउँछिन्। दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्सफर डेस्कमा एक घण्टाभन्दा बढी प्रतिक्षा गरे पनि स्पष्ट जवाफ र सहयोग नपाएको उल्लेख गर्दै उनले कर्मचारीलाई असभ्य र गैरव्यवसायिक भनेकी छन्।
गुणस्तरहीन सेवा र होटलको अनुभव
उडानका क्रममा गुणस्तरहीन खाना दिएको र ट्रान्जिट व्यवस्थापनमा लापरबाही भएको उनले बताइन्। दिल्लीको गुरुग्रामस्थित साकुरा होटलमा बासको व्यवस्था गरिए पनि होटलको अवस्था अत्यन्तै खराब रहेको उनी बताउँछिन्। होटलको बेड कभरमा रगतका दाग र छरपष्ट भएका महिलाको कपालको फोटो सामाजिक सञ्जालमा साझा गर्दै उनले व्यवस्थापनप्रति कडा आलोचना गरेकी छन्।
गोल्डेन फिल्म अवार्डको यात्रा
रिमा अमेरिकामा पहिलोपल्ट आयोजना गरिएको गोल्डेन फिल्म अवार्डका लागि दुई साताअघि गएकी थिइन्। उनीसँगै गएका केही कलाकार फर्किसकेका छन् भने कोही अझै उतै रहेका छन्।
रिमाको यो घटनाले एयर इन्डियाको सेवा प्रणाली र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ। उनका पोस्टले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ, जसले कम्पनीलाई आफ्नो सेवा सुधार गर्न दबाब दिन सक्ने देखिन्छ।




