काठमाडौँ, पुस १ ।नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार रमेश विष्टले अब जीवनभर स्वतन्त्र पत्रकारितामा सक्रिय रहने घोषणा गरेका छन्। प्रेस युनियनको निर्णयविपरीत माओवादी निकट प्रेस सेन्टरसहितका संगठनको समर्थनमा उम्मेदवार बनेपछि उनलाई युनियनले निर्वाचनअघि नै निष्कासन गरेको थियो।
चुनावमा पराजयपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै विष्टले आफ्नो उम्मेदवारीलाई राजनीतिक हस्तक्षेपविरुद्धको विद्रोहको रूपमा चित्रित गरे। उनले प्रलोभन र दबाबका बीच आफू र आफ्नो टोलीले स्वाभिमानको राजनीति गरेको बताए।
पत्रकार महासंघको चुनावमा नेपाली कांग्रेस र एमाले निकट पत्रकार संगठनहरूको गठबन्धनको सामना गर्दै विष्टले माओवादीसहितका वामपन्थी प्यानलको नेतृत्व गरेका थिए। चुनावी परिणामलाई प्राविधिक मुद्दा बताउँदै उनले अब स्वतन्त्र रहेर पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


