काठमाडौं,१९ मङ्सिर – नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारत भ्रमणमा जाने भएका छन्। भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिर २६ देखि मंसिर २९ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
भ्रमणको क्रममा प्रधान सेनापति सिग्देललाई भारतका राष्ट्रपति द्रौपदी मुर्मुद्वारा भारतीय सेनाको मानार्थ महारथीको दर्जाले सम्मानित गरिने छ। यो सम्मान नेपाली सेनाका प्रधान सेनापतिहरूलाई परम्परागत रूपमा प्रदान गरिँदै आएको छ।
भ्रमण अवधिमा उनले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नेछन्। साथै, उनले इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाज कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
यो भ्रमणले नेपाल–भारत सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


