एडीबी र नेपाल सरकारको सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी सुरु

Categories:

-

काठमाडौं,१९ मङ्सिर  – एसियाली विकास बैंक (ADB) र नेपाल सरकारबीचको ५० वर्ष लामो सहकार्यका उपलब्धिहरूलाई उजागर गर्न नेपाल आर्ट काउन्सिल, बबरमहलमा फोटो प्रदर्शनी सुरु भएको छ। मंसिर १८ गते उद्घाटन भएको यो प्रदर्शनी मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनी फोटोपत्रकार क्लब नेपालको सहकार्यमा आयोजना गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबी नेपालका निर्देशक आर्नोड कोस्वा, र नर्वेली राजदूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरे।

प्रदर्शनीमा ऊर्जा उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी चार भागमा नेपालमा ऊर्जा विकासका विभिन्न चरणहरूलाई चित्रण गरिएको छ। आयोजकका अनुसार, ५० वर्षमा एडीबी र नेपाल सरकारबीच ऊर्जा क्षेत्रमा भएका सहकार्य र प्रगतिहरूलाई प्रदर्शनीमार्फत प्रस्तुत गरिएको छ।

उद्घाटन कार्यक्रममा राज्यमन्त्री तामाङले एडीबीले नेपालको ऊर्जा क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै हालै सम्पन्न भएका धेरै सकारात्मक कामहरूको चर्चा गरे। उनले भने, “नेपाललाई ऊर्जा क्षेत्रमा नयाँ उचाइमा पुर्‍याउन एडीबीको साथ सहयोग अपरिहार्य रहँदै आएको छ।”

एडीबी नेपालका निर्देशक कोस्वाले ऊर्जा उत्पादन, प्रसारण र वितरण सुधारका लागि नेपाल सरकारसँगको सहकार्य निरन्तर रहने बताए। उनले भने, “नेपाल जस्तो कम विद्युतीकरण भएको देश अहिले ऊर्जा निर्यात गर्ने क्षमतासम्म आइपुग्नु ठूलो उपलब्धि हो।”

कार्यकारी निर्देशक घिसिङले एडीबीको सहयोगमा ठूला जलाशययुक्त जलविद्युत् आयोजनाहरू निर्माण भइरहेको जानकारी दिए। उनले एडीबीसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।

फोटो प्रदर्शनीले नेपाल-एडीबी सहकार्यका उपलब्धिहरूलाई उजागर गर्दै ऊर्जा क्षेत्रमा भएका प्रगतिहरूलाई आमजनतामा पुर्‍याउने लक्ष्य राखेको छ। प्रदर्शनी हेर्न सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य