काठमाडौं, मंसिर १३ – परराष्ट्रमन्त्री आरजु राणा देउवा आज मंसिर १३ गते चीन प्रस्थान गर्दैछिन्। उनी दिउँसो १२:२० बजे सिचुआन एयरलाइन्सको उडानमार्फत छेन्दुङका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमणको क्रममा मन्त्री राणाले मंसिर १४ गते बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने तय भएको छ। यो भेटवार्तामा नेपाल–चीन सम्बन्ध सुदृढ गर्ने, आर्थिक सहयोगका कार्यक्रमहरू, र आगामी रणनीतिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
मन्त्री राणाको यो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको तयारीस्वरूप गरिएको हो। प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका छन्। प्रधानमन्त्रीको भ्रमण नेपाल–चीन सम्बन्धलाई थप गहिरो बनाउँदै व्यापार, लगानी, र पूर्वाधार विकासजस्ता क्षेत्रहरूमा नयाँ समझदारीका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
परराष्ट्रमन्त्रीको चीन भ्रमणले प्रधानमन्त्रीको भ्रमणका एजेन्डा तय गर्न तथा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउन योगदान गर्ने विश्लेषकहरूले बताएका छन्। यो भ्रमणले चीनसँगको सम्बन्धलाई कूटनीतिक र आर्थिक दृष्टिकोणले महत्वपूर्ण मोडमा पुर्याउने विश्वास लिइएको छ।