४४ रिक्त पदका लागि उप–निर्वाचन, निर्वाचन आचारसंहिताको कडा निगरानी सुरु

-

काठमाडौं,२ मङ्सिर । स्थानीय तह उप–निर्वाचनका लागि आज मंसिर २ गते आइतवारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगको निर्णयअनुसार आजदेखि उप–निर्वाचन हुने जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय, तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू हुनेछ। आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले यो जानकारी दिएकी हुन्।

आचारसंहिताले नेपाल सरकार, मन्त्री, प्रदेश सरकार, संवैधानिक निकाय, स्थानीय कार्यपालिका, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थानहरूका पदाधिकारी र कर्मचारीलाई बाध्य पार्नेछ। यसमा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठन, उम्मेदवार, मतदान तथा मतगणना प्रतिनिधि, सञ्चार प्रतिष्ठान र पत्रकार, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय र अन्य निकायहरू पनि समावेश छन्।

निर्वाचन आचारसंहिता लागू भएको जिल्लाका क्षेत्रमा आचारसंहिताले निषेध गरेका कार्यहरू गर्नु वा गराउनु परेमा आयोगलाई पूर्वजानकारी दिनु पर्नेछ। यसरी पालना गर्न नसकेको खण्डमा उल्लङ्घन भएमा आयोगले मौखिक, लिखित, सामाजिक सञ्जाल वा विद्युतीय माध्यमबाट उजुरी गर्न आह्वान गरेको छ।

मंसिर १६ गते हुने स्थानीय तह उप–निर्वाचनका लागि आज नै उम्मेदवार मनोनयन पत्र दर्ता हुनेछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिनेछ। यस उप–निर्वाचनमा जिल्लामा रिक्त भएका ४४ पदमा चुनाव हुनेछ, जसमा दुई जिल्ला समन्वय समिति प्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष, एक नगरपालिका प्रमुख, एक उपप्रमुख, र ३४ वडाध्यक्षहरू समावेश छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य