काठमाडौं, ३० कात्तिक – लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५ आई नेपालले “सिमा बिना शान्ती” भन्ने नाराका साथ शान्ति पोस्टर प्रतियोगिता २०२४ काठमाडौंको जनकल्याण मावि महाँकालमा सम्पन्न गरेको छ। लायन्स क्लब अफ काठमाडौं पिस आइडियलद्वारा आयोजित यो प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले कला मार्फत शान्ति र सद्भावको सन्देश प्रस्तुत गरेका थिए।
प्रतियोगितामा १२ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। यी विद्यालयहरूमा आन्तरिक प्रतियोगितामार्फत उत्कृष्ट पाँच विद्यार्थी छनोट गरिएका थिए, जसले मुख्य प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरे। यस प्रक्रियाले विद्यार्थीहरूमा रचनात्मकता र शान्तिप्रतिको समझदारीलाई सशक्त बनाएको क्लबकी कोषाध्यक्ष लायन टेरेसा बानियाले बताइन्। सहभागी विद्यालयहरूमा जनकल्याण माध्यमिक विद्यालय, बल उद्धार माध्यमिक विद्यालय, नवजागृति माध्यमिक विद्यालय, ड्याफोडिल पब्लिक स्कूल, रियालन्स इन्टरनेशनल एकेडेमी लगायतका विद्यालयहरू थिए।
प्रतियोगितामा जोसेफ हाई स्कुलकी दीपिका राना मगरले प्रथम स्थान हासिल गरिन्। ड्याफोडिल पब्लिक स्कूलकी समृद्धि लामाले दोस्रो स्थान प्राप्त गरिन्, रियालन्स इन्टरनेशनल एकेडेमीकी शिक्षा फुयाल तेस्रो स्थानमा र ड्याफोडिल बोर्डिङ स्कूलकी सुरक्ष्या श्रेष्ठ चौथो स्थानमा रहे। विजेताहरूलाई विशेष सम्मान पत्र र पुरस्कार प्रदान गरियो।
कार्यक्रमका प्रमख अतिथि सूर्य कुमार केसी, जो जिल्ला ३२५ आई का सेकन्ड भाइस डिस्ट्रीक्ट गर्भनर हुन्, ले प्रतियोगिताको सफल आयोजनाको लागि क्लबलाई विशेष धन्यवाद दिए। उनले पहिलो पटक ३२५ आई अन्तर्गतका क्लबहरू मध्ये १२ विद्यालयलाई सहभागी गराउँदै यस किसिमको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा गर्व महसुस गरेको बताए।
प्रतियोगिताका निर्णायक मण्डलका अध्यक्ष पासाङ बिक्रम लामा (मङोल पुत्र) थिए, जो नेपाली समसामयिक कलाकार मञ्च ‘प्यागोडा ग्रुप’ का संस्थापक सदस्य पनि हुन्। उनले विद्यार्थीहरूका चित्रकला हेर्दा उनीहरूमा रहेको रचनात्मकताको स्तर र शान्तिप्रतिको समझदारीको प्रशंसा गरे।
कार्यक्रममा प्रमुख जनसम्पर्क अधिकारी विष्णु भण्डारी, डिस्ट्रीक्ट सेक्रेटेरियट एडमिनिस्ट्रेटर महेश पाण्डे, क्लस्टर प्रमुख अनिता थापा, रिजन चियरपर्सन मेघा तिमल्सिना, लायन्स क्लब अफ काठमाडौं परोपकारका अध्यक्ष नवराज पाण्डे, र अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष शिव श्रेष्ठले गरेका थिए।
यस प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूलाई कला मार्फत शान्तिप्रतिको महत्व बुझाउनु र सहिष्णुताको भावना विकसित गर्नु रहेको थियो। सहभागी विद्यार्थीहरूले रंगीन चित्रकला मार्फत आफ्ना विचारहरू प्रस्तुत गर्दै शान्तिको महत्त्वलाई उजागर गरे। कार्यक्रमले शान्तिप्रतिको समझदारीलाई सशक्त बनाउँदै समुदायमा सकारात्मक सोचको विकास गर्ने लक्ष्य पूरा गरेको थियो।
लायन्स क्लब अफ काठमाडौं पिस आइडियलका चार्टर अध्यक्ष लायन शिव श्रेष्ठले उत्कृष्ट चित्रकलाहरूलाई भविष्यमा विशेष चित्रकला प्रदर्शनीमा समावेश गर्ने योजना रहेको जानकारी पनि दिए। प्रतियोगिताले विद्यार्थीहरूमा शान्तिप्रतिको सोच र रचनात्मकतालाई अझ बढी प्रोत्साहन गर्ने विश्वास गरिएको छ।


