काठमाडौं,२८ कार्तिक । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई मितेरी सहकारीमा भएको अपचलन सम्बन्धी बयानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बोलाएको छ। बुधबार ललितपुरको मितेरी सहकारीमा भएको आर्थिक अपचलनबारे गुरुङसँग चारदेखि पाँच घण्टा लिखित बयान लिइएको हो।
सिआइबीका प्रमुख एआईजी दीपक थापाका अनुसार, अनुसन्धानका लागि आवश्यक जानकारी लिन गुरुङसँग सोधपुछ गरिएको थियो। मितेरी सहकारीमा सर्वसाधारणको १४ करोड रुपैयाँ अपचलन भएको संसदीय छानबिन समितिको निष्कर्षले यस घटनालाई थप चर्चामा ल्याएको छ।
धनराज गुरुङकी पत्नी ज्योति गुरुङ मितेरी सहकारीमा पदाधिकारी रहेकी छिन्, जसका कारण गुरुङ पनि अनुसन्धानको दायरामा तानिएका हुन्। रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गरेपछि गुरुङमाथि पनि दबाब बढ्दै गएको थियो। संसदीय छानबिन समितिले पनि गुरुङलाई छानबिनको दायरामा ल्याउन निर्देशन दिएको छ।


