भैरहवा,२८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा रुपन्देहीमा आज पनि बयान हुने भएको छ। मंगलबार करिब पाँच घण्टासम्मको बयानपछि आज बिहान १० बजे पुनः सरकारी वकिलको कार्यालयमा बयान शुरू हुनेछ। बयानका क्रममा जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता र प्रहरी अधिकारीहरूको उपस्थिति रहेको रुपन्देही प्रहरीले जनाएको छ।
लामिछानेमाथि पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारीका रकम हिनामिनामा संलग्न भएको आरोप छ। संसदीय छानबिन समितिको प्रतिवेदनमा सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध रूपमा लागेको उल्लेख छ।
जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरी स्रोतका अनुसार, उनीमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।


