रवि लामिछानेलाई बुटवल लैजाने तयारी, सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिने

Categories:

-

काठमाडौँ,२६ कार्तिक ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बुटवल लैजाने तयारी भएको छ। लामिछाने हाल कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्, जहाँ सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि रुपन्देही प्रहरीले उनलाई बुटवल झिकाउन पत्राचार गरेको छ।

लामिछानेले कास्कीमा सूर्यदर्शन सहकारी ठगीसम्बन्धी बयान सकेपछि बुटवल लैजाने निर्णय गरिएको कास्की प्रहरीले जानकारी दिएको छ। बुटवलमा पनि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ। यसअघि छविलाल जोशी बन्जाडेलाई बुटवलमा बयानपछि पुनः पोखरा फिर्ता गरिएको थियो। लामिछानेलाई पनि थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

पूर्व गृहमन्त्री रहँदा सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम अभियोग पत्रमा आएको थियो। सहकारी सम्बन्धी संसदीय छानबिन समितिले विभिन्न सहकारीहरूको रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको भन्दै लामिछानेको संलग्नता रहेको उल्लेख गरेको थियो। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ, जसमा १,००२ जना बचतकर्ताको ६ करोड १ लाख २३ हजार ७५४ रुपैयाँ ठगी आरोप उनीहरूमा लागेको छ।

अभियोग पत्रमा लामिछानेको नाममा २ करोड रुपैयाँ निकासा भएको देखिन्छ। गोर्खा मिडिया नेटवर्क प्रालि नामको कम्पनीमा उनका एक लाख ८० हजार कित्ता सेयर रहेको र सेयरको मूल्य १ करोड ८० लाख रुपैयाँ कायम गरिएको उल्लेख छ। साथै, गोर्खा मिडिया नेटवर्कको खातामा २०७७ चैत १८ मा २ करोड रुपैयाँ निकासा भएको कागजसमेत अदालती मिसिलमा छ।

यस विषयमा बुटवलस्थित इलाका प्रहरी कार्यालयले लामिछानेसँग सोधपुछ गर्न उनलाई बुटवल झिकाएको हो।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य