काठमाडौं २४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले शनिबार पार्टी केन्द्रीय समितिको बैठक सुरु हुनु अगाडि पार्टी कार्यालयमै धर्ना दिएका छन्। उनीहरुले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै आक्रोश पोखेका छन्।
धर्नाका क्रममा कार्यकर्ताहरुले प्लेकार्ड बोकेर कार्यालयभित्रै प्रदर्शन गरे। उनीहरुले “संकटमा पार्टी सम्हाल, कि ठाउँ छोड”, “पार्टी एकता, देशको आवश्यकता हो”, “रविका नामबाट नेता र सांसद बन्नेहरु रविलाई संकट पर्दा पछि हट्नु धोका हो”, जस्ता नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए। साथै, “रविले नाम दिए, रविलाई पर्दा साथ नदिने”, “आन्दोलनले नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ”, र “आन्दोलनको विकल्प छैन” भन्ने नाराहरु समेत लेखिएका थिए।
उक्त धर्नामा सहभागी कार्यकर्ताहरुले “आफ्नै नेतालाई नो नट अगेन भन्ने दिन नआओस्”, “निर्णायक आन्दोलनको विकल्प छैन”, “रविको न्याय, सहकारी पीडितको रकम फिर्ता” लगायतका नाराहरु लेखेर पार्टीमा नेतृत्वको भूमिकाप्रति असन्तोष प्रकट गरेका छन्। उनीहरुको माग छ कि पार्टीले तत्काल सभापति रवि लामिछानेको मुद्दामा स्पष्ट र ठोस निर्णय लिनुपर्छ।
उनीहरुका अनुसार, लामिछानेको नेतृत्वमा सहकारी पीडितहरुको मुद्दामा लड्दै आएको पार्टीले अहिले उनले भोगिरहेको संकटका बेला साथ नदिएकोमा गम्भीर आपत्ति रहेको छ। “देशले २२ दिनदेखि एउटा आँटिलो र गतिलो नेता खोजिरहेको छ,” प्लेकार्डमा उल्लेख गरिएको यो नारा कार्यकर्ताहरुको आक्रोशको मुख्य कारणलाई झल्काउँछ।


